आजभोली राजावादीको आन्दोलनले सडक तातिरहेको छ। शक्ति र सत्ताको विरुद्धमा सडक आन्दोलन हुनु सामान्य विषय हो। तर, आजभोलि राजावादीले तताएको सडक शक्ति र सत्ता परिवर्तनका लागि होइन, व्यवस्था परिवर्तनका लागि हो। गणतन्त्र फ्यालेर राजतन्त्र ल्याउनका लागि हो, जुन सामान्य विषय होइन।
नेपालको संविधानले राजसंस्थाको परिकल्पना गरेको छैन। संविधानको धारा ४(१) मा नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रिक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको संवैधानिक व्यवस्था गरिएको छ।
बिस वर्षभन्दा बढी समय चुप बसेको राजसंस्था अहिले किन र कसरी राजसंस्था स्थापनाका लागि जुर्मुराउँदै छ? माओवादीको १० वर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनको जगमा स्थापना भएको गणतन्त्र विस्थापित भई त्यसको सट्टा राजसंस्था पुनः स्थापित होला त? राजसंस्था ल्याउने कानूनी बाटो कुन हो? यसको स्पष्ट जवाफ राजावादीहरूसँग पाउन सकिँदैन। तथापि, “जंगलमा सिंह र देशमा राजा, निर्वाचन गरेर आऔँ” भन्ने एउटा रेडिमेड जवाफ राजावादीबाट पाउन सकिन्छ।
देशमा राजसंस्था स्थापनाका लागि राजावादीहरूसँग जम्मा तीनवटा बाटाहरू रहेका छन्। पहिलो बाटो भनेको वर्तमान संसदमा दुई तिहाइको संख्या पुर्याएर संविधान संशोधन गर्नु; दोस्रो, आगामी २०८४ को निर्वाचनमा राजावादी दलहरू दुई तिहाइको संख्यामा निर्वाचित हुनु; र तेस्रो, जनताको साथ लिएर सडकबाटै राजसंस्था स्थापना गर्नु।
वर्तमान संविधानमा राजसंस्थाको परिकल्पना नगरिएकोले राजसंस्था स्थापनाका लागि संविधान संशोधन अनिवार्य रहन्छ। तर, संसदमा राजावादीहरूले दुई तिहाइ बहुमत जुटाउने अवस्था छैन। त्यसैले पहिलो बाटो राजावादीहरूका लागि अवलम्बन गर्न सम्भव छैन।
दोस्रो बाटो परिक्षण गर्नका लागि सबै राजावादी दलहरू एक भएर हिँड्न आवश्यक रहन्छ। तर, राजावादी दलहरू आफैंभित्रै टुटफुट भइरहेका छन्। भावनात्मक रूपमा एकता छैन। गणतन्त्रवादी दलहरूको विपक्षमा भन्दा राजावादी दलहरूबीचको आपसी द्वन्द्व र कलह झनै डरलाग्दो छ। यदि राजावादी दलहरू भावनात्मक रूपमा एक भएर राजनीतिप्रतिको यस फ्रस्टेड मनोविज्ञानलाई सम्हाल्न सक्छन् भने राजावादी राजनीतिक दल आगामी संसदमा बलियो शक्तिका रूपमा उदाउने सम्भावना रहन्छ।
तेस्रो बाटो भनेको सडकमा राष्ट्रवादी जनआन्दोलन चर्काउनु हो। राष्ट्रवादी जनआन्दोलनमार्फत सडकबाटै गणतन्त्र विस्थापित गरी राजतन्त्र स्थापना गर्नु हो। तर, यो बाटो अपनाउँदा देशका नागरिकहरूले भौतिक रूपमा साथ दिनुपर्ने हुन्छ भने अन्तर्राष्ट्रिय रूपमा समर्थन, सहयोग र मान्यता आवश्यक पर्छ, जुन यति सहज देखिँदैन।
हो, नेपाली नागरिकहरूको राजनीतिप्रति फ्रस्टेड मनोविज्ञान रहेको छ। राजनीतिमा आपराधिकरण भएको छ। जनताको दैनिकी दिनप्रतिदिन कष्टकर हुँदै गएको छ। सकारात्मक सुरुआत कतै पाउन सकिँदैन। तर, यही मनोविज्ञानको भरमा मात्र व्यवस्था परिवर्तन गर्छौं भनी लाग्नु राजावादीहरूको ठूलो भूल हुनेछ। जबर्जस्त एजेन्डा नहुँदा सम्म राजसंस्था स्थापना राजावादीहरूको एउटा स्वर्णिम परिकल्पना मात्र हुनेछ। जनताले संगठित रूपमा राष्ट्रवादी आन्दोलनलाई साथ दिने छैनन्। त्यसका लागि दशकौं राज गरेको राजसंस्था किन पुनःस्थापित गर्ने? राजा ल्याउने बाटो कुन हो? यसको वस्तुनिष्ठ योजना सहितको जवाफ नेतृत्वकर्तासँग हुनैपर्छ।
अहिलेकै गणतान्त्रिक व्यवस्थामा आम नागरिकको भौतिक र नैतिक समर्थन रहेको छ। यस व्यवस्थालाई राजतन्त्रले विस्थापित गर्नका लागि कम्तिमा यत्तिकै मात्रामा त्यसको विपक्षी शक्ति आवश्यक रहन्छ। तर, व्यवस्थाले अवस्था परिवर्तन गर्न सकेको छैन। यसमा आम नागरिकको गुनासो, चिन्ता र चासो रहेको छ। राजनीतिलाई फोहोरसँग, नेतालाई अपराधसँग जोडेर हेर्ने गरिएको छ। त्यसैले देशको अवस्था र व्यवस्था मध्ये कुनै एक बदल्नु आजको अपरिहार्य आवश्यकता हो।
यो व्यवस्थाले सृजना गरेको देशको अवस्था प्रति जनता रुष्ट छन्। त्यसैले विरोधको ठूलो स्वर सुनिन्छ। तर, विरोधको यही स्वरलाई मात्र हातमा लिएर राजतन्त्रको बिगुल फुक्ने आत्मकेन्द्रित सोच बनाउनु जनताप्रति बेइमानी मात्र होइन, प्रणालिप्रतिको अपमान पनि हो।
गणतन्त्रमा राजावादीहरूले स्वतन्त्रतापूर्वक व्यवस्थाको विरुद्धमा सडक आन्दोलन गर्न पाउनु यस गणतान्त्रिक व्यवस्थाको सुन्दरता हो। अवस्था बदल्ने वस्तुनिष्ठ अवधारणा बिना यो व्यवस्था बदल्ने आट गर्नु राजावादीहरूको लागि केवल ठूलो भ्रम मात्र हुनेछ।
त्यसैले, राजा ल्याउने बाटो कुन हो? भावनात्मक नाराभन्दा बाहिर निस्केर, विधिसम्मत, व्यवहारिक र स्पष्ट कार्ययोजना प्रस्तुत गर्दै जनतासमक्ष जान सक्ने हो भने मात्र राष्ट्रवादी आन्दोलनले सार्थकता पाउनेछ। नत्र, यो सबै एक अपुरो कल्पना, असम्भव अभियान र अतीतप्रतिको अनुत्पादक मोहमा सीमित हुनेछ। इतिहास परिवर्तन गर्न चाहनेले भविष्यप्रतिको स्पष्ट दृष्टि बोकेको हुनुपर्छ, भावनाले होइन, तथ्य र तर्कले हिँड्नुपर्छ। यही यथार्थबोधले मात्र अबको आन्दोलनको सार्थकता सुनिश्चित गर्न सक्छ।