सामाजिक सदभाव, राष्ट्रिय एकता र बालबालिकाको सुरक्षामा ध्यान दिन अपेनको अपिल

काठमाडौँ । एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) ले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज क्षेत्रमा हालै घटेको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। अपेनका केन्द्रीय अध्यक्ष कृष्ण कुमार बोहराद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकासन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विज्ञप्तिमा हालको परिस्थिलाई यथाशीघ्र सामान्य बनाई शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव पुनःस्थापित गर्न सम्बन्धित निकायहरूले आवश्यक पहल गरिरहेका छन् भन्नेमा विश्वास व्यक्त गरिएको छ। नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै आपसी विश्वास, सहिष्णुता, मेलमिलाप र राष्ट्रिय एकताको बलमा अगाडि बढ्न यो ऐतिहासिक उदाहरण भएको अपेनले जनाएको छ।

अपेनले प्रारम्भिक बालविकास तथा विद्यालय शिक्षासँग प्रत्यक्ष आबद्ध संस्थाको रूपमा हालको परिस्थितिबाट बालबालिकाको मानसिक, भावनात्मक र सामाजिक विकासमा पर्न सक्ने नकारात्मक प्रभावप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

समाजमा हुने हिंसा, द्वेष, उत्तेजना, भय र विभाजनका सन्देशहरूले बालबालिकाको कोमल मनमा दीर्घकालीन मनोसामाजिक असर पार्न सक्ने हुँदा अभिभावक, शिक्षक, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा समाजका सबै जिम्मेवार पक्षहरूलाई अत्यन्त संवेदनशील र संयमित बन्न आग्रह गरिएको छ। सामाजिक सञ्जालहरूमा उत्तेजित गराउने खालका सन्देशहरू पोष्ट नगरिदिन सबैमा अनुरोध गर्दै, अपेनले राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र सरोकारवाला सबै पक्षलाई शान्तिपूर्ण सहअस्तित्वको वातावरण सुदृढ बनाउन अपिल गरेको छ।

अन्त्यमा, सामाजिक सद्भाव, राष्ट्रिय एकता, मानवता र शान्तिपूर्ण सहअस्तित्वको रक्षा गर्दै वर्तमान परिस्थितिप्रतिको विवेक, संयमता र जिम्मेवारीका साथ सामना गर्न सम्पूर्ण नेपाली नागरिकहरूलाई अपेनले हार्दिक अनुरोध गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज