५ दिने व्यवसायिक मध्यस्थता तालिम सुरु

काठमाडौं । ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको आयोजनामा र नेपाल इन्टरनेशनल एडीआर सेन्टर (NIAC) को प्राविधिक सहयोगमा ५ दिने व्यवसायिक मध्यस्थता तालिम सुरु भएको छ। तालिमको उद्घाटन नेपाल बार एशोसिएशनका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोईरालाले गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै कोईरालाले मध्यस्थता विवाद समाधानको प्रभावकारी विधा भएको र नेपालमा यसको बढ्दो महत्वलाई ध्यानमा राख्दै दक्ष मध्यस्थकर्ता उत्पादन गर्न यस्तो तालिम आवश्यक भएको बताए। उनले ज्ञानपुञ्जले कानून व्यवसायमा रुचि राख्ने र पेशागत क्षमता विकास गर्न चाहनेका लागि सञ्चालन गर्दै आएका नियमित तालिमको उच्च प्रशंसा गरेका थिए।

कार्यक्रममा NIAC का अध्यक्ष डा. मुक्ती रिजालले ज्ञानपुञ्जसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। NIAC का कार्यकारी निर्देशक तथा वरिष्ठ अधिवक्ता मातृका प्रसाद निरौला प्रमुख प्रशिक्षकको भूमिकामा रहेको तालिम श्रावण १५ गतेसम्म पुतलीसडकस्थित ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको सभाहलमा सञ्चालन हुनेछ।

तालिममा कानून व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर लगायत विभिन्न पेशामा आवद्ध पेशाकर्मीको सहभागिता छ। साथै, ज्ञानपुञ्जले विवाद समाधानका विविध विधामा नियमित तालिम सञ्चालन गर्दै आएको र श्रावण १७ गतेदेखि ८ दिने आधारभूत मेलमिलाप तालिम सुरु हुने जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज