८ दिने आधारभूत मेलमिलाप तालिम सम्पन्न

काठमाडौं । ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको आयोजनामा र जनअधिकार संरक्षण मञ्चको प्राविधिक सहयोगमा ८ दिने आधारभूत मेलमिलाप तालिम सम्पन्न भएको छ। समापन समारोहमा मेलमिलाप परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी प्रमुख अतिथि रहनुभएको थियो।

समारोहमा न्यायाधीश रेग्मीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै नेपालमा मेलमिलापको संस्थागत विकासमा ज्ञानपुञ्जको सक्रियताप्रति प्रशंसा गर्नुभयो। उहाँले नयाँ मेलमिलाप निर्देशिका अन्तिम तयारीमा रहेको जानकारी दिँदै कक्षा १२ उत्तीर्ण गरेका व्यक्तिहरूलाई पनि अदालती मेलमिलाप प्रक्रियामा सहभागी हुने अवसर दिने व्यवस्था हुने उल्लेख गर्नुभयो।

कार्यक्रममा Nepal International ADR Center (NIAC) का कार्यकारी निर्देशक वरिष्ठ अधिवक्ता मातृका निरौला, प्रमुख प्रशिक्षक सतिश कुमार शर्मा र प्रशिक्षक अधिवक्ता पेशल कुमार लुइँटेलले मेलमिलापको व्यावसायिक अभ्यास, सम्भावना र समाजमा यसको बढ्दो महत्वबारे विचार राख्नुभएको थियो।

प्रशिक्षार्थीहरूले तालिमको शैक्षिक प्रभाव, मौलिक सांस्कृतिक स्वाद, शुद्ध शाकाहारी खानाको व्यवस्था र रमणीय वातावरणको प्रशंसा गर्दै आयोजक संस्था र प्रशिक्षकप्रति आभार व्यक्त गरे। समापन अवसरमा प्रशिक्षार्थीहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपले वैकल्पिक विवाद समाधानका विधिहरूमा निरन्तर कार्य गर्दै आएको छ। यसै सन्दर्भमा व्यावसायिक मध्यस्थता तालिम श्रावण ११ देखि १५ गतेसम्म र आधारभूत मेलमिलाप तालिम (नवौं संस्करण) श्रावण १७ देखि २४ गतेसम्म आयोजना गरिने कार्यक्रम रहेको ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपका अध्यक्ष हरि प्रसाद डुम्रेले बताउनु भयो ।

सम्बन्धित समाचार

ताजा न्यूज