पोखरा । कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता नलिने आदेश गरेको छ।
सोमबार भएको सुनुवाइपछि जिल्ला न्यायाधीश नितिश राईको इजलासले मुद्दा फिर्ता सम्बन्धी निर्णयमाथि सर्वोच्चमा विचाराधीन रिट रहेको भन्दै तत्काल निर्णय नगर्ने आदेश दिएको हो। अदालतका अनुसार सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा प्राप्त भएपछि मात्रै थप निर्णय हुनेछ।
यसअघि महान्यायाधिवक्ताको कार्यालय ले लामिछानेसहित प्रतिवादी रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। उक्त निर्णयपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा फिर्ताको निवेदन दर्ता गराएको थियो।
लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग जोडिएर सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा दायर भएका थिए।
यही प्रकृतिको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध माघ २ गते अधिवक्ता युवराज पौडेलले सर्वोच्च अदालत मा रिट दायर गरेपछि विभिन्न जिल्ला अदालतमा मुद्दा फिर्ता प्रक्रिया प्रभावित बनेको हो।
यसअघि रूपन्देही जिल्ला अदालत ले पनि लामिछानेविरुद्धका यस्ता मुद्दा तत्काल फिर्ता नगर्ने आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी ले पुस ३० गते निर्णय गर्दै सहकारी ठगीसम्बन्धी मुद्दा यथावत् राखी संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।
लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालत, चितवन जिल्ला अदालत लगायत विभिन्न जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर छन्।

