विस्फोटक पदार्थ मुद्दामा श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार रहेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। ‘विश्वक्रान्ति’ उपनामले चिनिने उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो।

धनकुटा घर भई हाल काठमाडौँको कपन क्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीय तामाङलाई पक्राउ गरिएको हो। तामाङ विभिन्न समयमा कुमार, विश्वक्रान्ति र देवराज लामा नामबाट समेत परिचित छन्।

तामाङ हाल धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमा उपाध्यक्षको भूमिकामा रहेका थिए।

प्रहरीका अनुसार तामाङविरुद्ध २०६८ फागुन १५ गते काठमाडौँको बबरमहलस्थित नेपाल आयल निगमको मुख्य गेटमा टाइम बम विस्फोट गराएको आरोप छ। उक्त विस्फोटमा तीन जनाको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए।

यसअघि २०६९ असार १२ गते पाँचथरको भुसपाते क्षेत्रबाट विस्फोटक पदार्थसहित पक्राउ परेका तामाङलाई कर्तव्य ज्यान तथा ज्यान सम्बन्धी कसूरको अनुसन्धानका लागि काठमाडौँ पठाइएको थियो। पछि केन्द्रीय कारागार नख्खुमा रहेका उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रिहा भएका थिए।

तर पाँचथर जिल्ला प्रहरी कार्यालयमा दर्ता रहेको विस्फोटक पदार्थ सम्बन्धी अर्को मुद्दामा भने उनी फरार देखिँदै आएका थिए। सोही मुद्दाको अनुसन्धान र कारबाहीका लागि उनलाई पुनः पक्राउ गरी पाँचथर पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज