विद्यालय शिक्षा विधेयकप्रति असहमति निजी विद्यालय आन्दोलनमा

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका प्रावधानप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालक सङ्गठनहरू नेशनल प्याब्सन र प्याब्सनले पाँच बुँदे मागसहित आन्दोलन सुरु गरेका छन्।

उनीहरूले ‘पूर्ण छात्रवृत्ति’ शब्द खारेज गर्नुपर्ने, विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको प्रावधान हटाउनुपर्ने, पोसाक तथा स्टेशनरी उपलब्ध गराउनुपर्ने व्यवस्था हटाउनुपर्ने लगायतका माग अघि सारेका छन्।

आज बिहान ११ देखि दिउँसो १ बजेसम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रिन्सिपलहरूको र्‍याली र कोणसभा आयोजना गर्ने कार्यक्रम छ। यस्तै, भदौ ६ गते देशभर स्कुल बस उतारेर नगर परिक्रमा गर्ने तथा काठमाडौँ चक्रपथ वरिपरि कालो झन्डा र ब्यानरसहित प्रदर्शन गर्ने योजना दुवै संस्थाले तय गरेका छन्। यो आन्दोलनमा एसोसिएसन अफ प्रि स्कुल एडुकेर्टस नेपाल (अपेन)ले समेत साथ दिएको छ । अपेनले समेत आफ्ना सम्पूर्ण सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन आव्हान गरेको छ । अपेनका महासचिव कृष्णकुमार बोहराले संस्थागत लगानी प्रतिको राज्यको अन्यायपूर्ण व्यवहार भएको बताए । उनले भने निजी लगानी कमजोर बनाउँदा पुजी विकास कसरी हुन्छ ? लगानी बढाउन राज्यले प्रोत्साहन गरोस् । त्यसैले यो आन्दोलनमा हाम्रो समेत साथ सहभागिता र ऐक्यबद्धता रहन्छ ।

माग सम्बोधन नभए भदौ ८ गतेदेखि निर्णायक आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज