विशेष अदालतको टिप्पणीपछि अख्तियार प्रमुख राईको पद धरापमा, राजीनामा कि महाअभियाेग भन्ने बहस सुरु

काठमाडौं। वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानीछानी मुद्दा दायर गरेको भन्दै विशेष अदालतले गम्भीर न्यायिक टिप्पणी गरेपछि प्रमुख आयुक्त प्रेमकुमार राईको पद नै संकटमा परेको छ।

चयनमुखी अनुसन्धान भएको भनेर अदालतकाे टिप्पणी आएकाे, राइमाथी छानविनकाे माग गरेर अख्तियारमै उजुरी परेकाे र स‌‌‌सदमा समेत उनकाे विरोध हुन थालेपछि उनको राजीनामा कि महाअभियाेग भन्ने बहस सुरु भएकाे छ ।

राई नेपाल वायुसेवा निगम र कर्मचारी सञ्चय कोषको अध्यक्ष रहँदा जहाज खरीद र ऋण निकासासम्बन्धी निर्णयमा संलग्न थिए। तर, अख्तियारले उनीमाथि अनुसन्धानै नगरी अरू ३२ जनाविरुद्ध मात्रै मुद्दा दायर गरेको थियो।

अदालतले अख्तियारको अभियोजन चयनमुखी भएको भन्दै ‘समान न्यायको सिद्धान्तविपरीत’ ठहर गर्दै अनुसन्धान र अभियोजन दुवै प्रक्रिया दूषित भएको टिप्पणी गरेको हो।

संवैधानिक कानुनविद्हरूले अदालतको यस्तो टिप्पणीपछि राई पदमा बस्न नमिल्ने बताएका छन्। उनका अनुसार अब राईले स्वेच्छिक राजीनामा दिनु वा संसद्ले महाभियोग प्रस्ताव ल्याउनु कानूनी बाटो हो।

यसअघि अख्तियारकै पूर्व प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति पनि सर्वोच्च अदालतले नैतिक चरित्र नपुगेको भन्दै बदर गरेको थियो। त्यस्तै टिप्पणी अहिले राईमाथि भएको भन्दै उनी पदमा बस्न अयोग्य ठहरिन सक्ने कानुनविद्को भनाइ छ।

सम्बन्धित समाचार

ताजा न्यूज