कर्णाली विकास बैंक घोटाला : १११ जनामाथि मुद्दा चलाउन सीआईबीको सिफारिस

काठमाडौं । कर्णाली विकास बैंकको करिब सवा ३ अर्ब रुपैयाँ हिनामिनामा संलग्न भएको ठहर गर्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १११ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको छ।

सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार विस्तृत अनुसन्धान प्रतिवेदन केही दिनअघि सरकारी वकिलको कार्यालयमा बुझाइएको छ। सो प्रतिवेदनका आधारमा उच्च अदालत नेपालगञ्ज अन्तर्गतको बाँके जिल्ला अदालतमा मुद्दा दर्ता प्रक्रिया अघि बढ्नेछ।

घोटालामा संलग्न ठहर भएका चार जनालाई सीआईबीले यसअघि नै पक्राउ गरेको छ। पछिल्लो पटक नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई टोखाबाट पक्राउ गरिएको हो। बैंकबाट उनको व्यक्तिगत खातामा रकम ट्रान्सफर भएको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको सीआईबीको दाबी छ।

यसअघि तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई समेत पक्राउ गरी बाँकेमा अनुसन्धान गरिएको थियो। राय बैंक स्थापनादेखि १५ वर्षसम्म कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा रहेका थिए।

अनुसन्धानका क्रममा करिब सवा तीन अर्ब रुपैयाँ हिनामिना भएको पुष्टि भएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ। बैंकको खातामा नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ बनाइ रकम अपचलन ढाकछोप गरिएको र राष्ट्र बैंकको अनुगमन टोलीलाई समेत भ्रमित पारेको प्रमाण भेटिएको छ।

मुद्दा चलाउन सिफारिस गरिएकामध्ये अधिकांश बैंकका सञ्चालक तथा कर्मचारी छन्। सीआईबीले कर्जा लिएर नतिर्ने ऋणीहरूलाई समेत प्रतिवादी बनाउन सिफारिस गरेको छ।

२०६६ देखि २०७५ सम्म अध्यक्ष रहेका दयाल मिश्र मधेश आन्दोलनबाट उदाएका नेता हुन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके-२ बाट स्वतन्त्र उम्मेदवार बनेका उनी पछि एमालेमा प्रवेश गर्दै केन्द्रीय सदस्य बनेका थिए।

कर्णाली विकास बैंकको घोटालाले राष्ट्र बैंकदेखि अन्य वित्तीय नियामक निकायसम्म नै गम्भीर प्रश्न उठाएको छ। सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययनपछि शीघ्र मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज