काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलको लमजुङमा आयोजित पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा खुकुरी प्रहारको घटनामा संलग्न ४ जना विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता गरिएको छ। लमजुङ प्रहरीका अनुसार मध्य नेपाल नगरपालिकाका किरण गुरुङ, धनबहादुर तामाङ, राइनास नगरपालिकाका गणेश गुरुङ, र मर्स्याङ्दी गाउँपालिकाका भूपेश गुरुङविरुद्ध जाहेरी दर्ता भएको हो।
जाहेरी दर्ता भएको भए पनि हालसम्म कोही पक्राउ परेका छैनन् । प्रहरीले अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ। उक्त घटनामा खुसीजंग गुरुङ, सुदीप अधिकारी, सन्तोष बस्नेत र शङ्कर सापकोटा घाइते भएका छन्। घाइतेमध्ये खुसीजंग गुरुङ र सुदीप अधिकारीलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवन रिफर गरिएको छ।

