काठमाडौँ । विवादास्पद व्यक्तिसँग भेटघाटको विवरण सार्वजनिक भएपछि चौतर्फी प्रश्न उठिरहेका बेला सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन्। उनी तिहार बिदा सकिएपछि मात्र अदालत फर्किने गरी कात्तिक ३० गतेसम्मका लागि बिदामा बसेका हुन्।
सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीश फुयालले मङ्गलबारदेखि शुक्रबारसम्मका लागि बिदा स्वीकृत गराएका हुन्। शुक्रबारपछि देशभर तिहारको सार्वजनिक बिदा सुरु हुने भएकाले उनी आगामी साताभर अदालतमा उपस्थित हुने छैनन्।
उच्चपदस्थ अधिकारीहरूसँग न्याय सम्पादन र ‘सेटिङ’को प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग ललितपुरस्थित होटल हिमालयमा भेट गरेको विवरण बाहिरिएपछि न्यायाधीश फुयाल विवादमा परेका थिए।
उक्त भेटको घटना सार्वजनिक भएपछि न्यायाधीशको आचरण र निष्पक्षतामाथि प्रश्न उठेको थियो। यद्यपि, न्यायाधीश फुयालले सापकोटासँग भेट भएको स्वीकार गरे पनि त्यसबाट सर्वोच्चमा विचाराधीन कुनै पनि मुद्दा प्रभावित नभएको दाबी गर्दै स्पष्टीकरण दिइसकेका छन्।

