काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई आधिकारिक रूपमा अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।
सोमबार कान्तिपथस्थित आयोगको कार्यालय पुगेर कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण र आवश्यक कागजातहरू हस्तान्तरण गरेका हुन्।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा भएको कानुनी व्यवस्थाबमोजिम महामन्त्री पौडेलले नयाँ केन्द्रीय कार्यसमितिको नामावली प्रस्तुत गरेका हुन्। त्यसका साथै महाधिवेशनबाट पारित पार्टीको संशोधित विधान, राजनीतिक प्रस्तावहरू, समसामयिक प्रस्तावहरू तथा महाधिवेशनका समग्र निर्णयहरू समेटिएका आधिकारिक दस्तावेजहरू पनि आयोगसमक्ष बुझाइएको छ।
आयोगमा निवेदन बुझाएसँगै १५औँ महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्व र निर्णयहरूलाई कानुनी रूपमा अभिलेखीकरण गर्ने प्रक्रिया अगाडि बढेको छ।

