काठमाडौं । सरकारी निर्देशनको निरन्तर अवज्ञा र विधानविपरीतका गतिविधिमा संलग्न रहेको ठहर गर्दै गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि संस्थाका सम्पूर्ण गतिविधिमाथि रोक लगाएको हो।
गृह मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गर्ने निर्णय गरिएको हो। संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत काम गरेको तथा मन्त्रालयले ऐनको दफा ५ बमोजिम पटक-पटक दिएका निर्देशनहरू पालना नगरेकाले यो कदम चालिएको मन्त्रालयले जनाएको छ।
यसअघि मन्त्रालयले २०८३ असोज २३ गते सरोकारवालाहरूसँग छलफल गर्दै राष्ट्रिय निर्देशन ऐन तथा २०८२ मंसिर १२ गते जारी गरिएका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेको थियो। तर, उक्त आग्रहलाई समेत बेवास्ता गर्दै निर्देशनको निरन्तर उल्लङ्घन भएपछि मन्त्रालय कडा रूपमा प्रस्तुत भएको हो।
निलम्बनको निर्णयसँगै गृह मन्त्रालयले अबदेखि एन-प्याब्सनको नाममा कुनै पनि समूह, संस्था वा गुटबाट गरिने सम्पूर्ण गतिविधिहरू पूर्ण रूपमा गैरकानुनी हुने स्पष्ट पारेको छ। यदि कसैले सूचनाको उल्लङ्घन गरी संस्थाको नाममा गतिविधि सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।


