अनुसन्धानका गोप्य सूचना बाहिरिएको भन्दै काठमाडौं प्रहरीको गम्भीर ध्यानाकर्षण, समाचार सम्प्रेषणमा सतर्क रहन आग्रह

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले हाल अनुसन्धानका क्रममा रहेको एक संवेदनशील मुद्दाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काठमाडौं प्रहरीले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘वार्ड नेपाल सरकार र प्रतिवादी इनम सापकोटासमेत रहेको मुद्दा’ मा भइरहेको अनुसन्धानलाई लिएर अनधिकृत विवरणहरू सार्वजनिक भएको भन्दै आपत्ति जनाएको हो।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा प्रचलित कानुन, विधि र स्थापित प्रक्रियाअनुसार नै उक्त मुद्दाको अनुसन्धान गुप्त रूपमा भइरहेको स्पष्ट पारिएको छ। अनुसन्धानका क्रममा संकलित विवरण, प्रमाण वा सूचना कुनै पनि व्यक्ति, पक्ष वा सञ्चारमाध्यमलाई उपलब्ध नगराइएको स्थितिमा अनुसन्धान अधिकारीलाई नै स्रोतको रूपमा सङ्केत गरी समाचार सामग्री प्रकाशन/प्रसारण हुनु चिन्ताजनक रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न आफूहरू सदैव प्रतिबद्ध रहेको दोहोर्‍याएको छ। संवेदनशील विषयका अपुष्ट विवरण र अनधिकृत सूचना सम्प्रेषण गर्दा जनमानसमा भ्रम सिर्जना हुने र अनुसन्धान प्रक्रियामै असर पर्न सक्ने भन्दै कानुनबमोजिम सूचनाको आधिकारिकता पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न प्रहरीले सञ्चारमाध्यम तथा आमसर्वसाधारणलाई अनुरोध गरेको छ।

यसैबीच, नेपाल प्रहरीको नीतिगत तथा प्रशासनिक निर्णयका लागि आजै प्रहरी प्रधान कार्यालय नक्सालमा सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूको उपस्थितिमा प्रहरी समन्वय समिति (पिसिसी) को बैठकसमेत आह्वान गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज