काठमाडौँ । कृषि फार्म सञ्चालनका लागि सरकारबाट पाइने सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका उच्च अधिकारीहरूसँग पहुँच रहेको र सजिलै अनुदान पारिदिने दाबी गर्दै ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ ताहाचल निवासी ५२ वर्षीय श्रीकृष्ण महर्जन (तिलक बुढाथोकी) र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन्।
सीआईबीका अनुसार उनीहरूले पीडित जालिम सिंह महतोलाई कृषि अनुदानको रकम निकास गरिदिने भन्दै लामो समयदेखि विभिन्न बहानामा पटक-पटक गरी पौने ६ करोडभन्दा बढी रकम असुल गरेका थिए। मन्त्रालयका कर्मचारीहरूसँग निकट सम्बन्ध रहेको भ्रम छरेर रकम कुम्ल्याएपछि पीडितले जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा नेपाल सरकार वादी भई चलाइएको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
काठमाडौं जिल्ला अदालतबाट २०८३ कात्तिक ११ गते म्याद थप गरी पक्राउ परेका दुवै जनामाथि हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ। पछिल्लो समय सरकारी अनुदानका नाममा हुने यस्ता ठगी धन्दामा संगठित गिरोह नै सक्रिय रहेको आशंकामा प्रहरीले सूक्ष्म छानबिन थालेको छ।

