काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ऊर्जा ड्रिंक्स (Energy Drinks) को उत्पादन, बिक्री-वितरण र सेवनलाई सुरक्षित बनाउन उपभोक्ता, उत्पादक तथा सरोकारवालाहरूका लागि महत्वपूर्ण जानकारी तथा निर्देशन जारी गरेको छ।
हालै केही सञ्चार माध्यमहरूमा विभिन्न ब्रान्डका ऊर्जा ड्रिंक्सलाई जोडेर आएका समाचारहरूप्रति विभागको ध्यानाकर्षण भएको जनाउँदै विभागले मानव स्वास्थ्यको सुरक्षा र उपभोक्ता हित संरक्षणलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेको छ। ऊर्जा ड्रिंक्स क्याफिनयुक्त (Caffeinated) पेय पदार्थ हो, जसमा क्याफिन, गुराना, टौरिन, भिटामिन बी, सुगर र पानीलगायतका मिश्रित पदार्थहरू प्रयोग गरिएका हुन्छन्। युरोपियन फुड सेफ्टी अथरिटी (EFSA) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (USFDA) लगायतका अन्तर्राष्ट्रिय संस्थाका वैज्ञानिक तथ्यअनुसार स्वस्थ तथा वयस्क उमेरका व्यक्तिले क्याफिन हुने सबै खाद्य पदार्थबाट एक दिनमा ४०० मिलिग्रामभन्दा बढी क्याफिन उपभोग गर्न नहुने वैज्ञानिक आधार रहेको विभागले जनाएको छ।
नेपालमा हाल १७ वटा उद्योगले आधिकारिक अनुमति लिएर ऊर्जा ड्रिंक्सको उत्पादन तथा बिक्री-वितरण गरिरहेका छन्। प्रयोगशालाको विश्लेषण प्रतिवेदन अनुसार ती उद्योगहरूले प्रयोग गरेको क्याफिनको मात्रा मानव उपभोगका लागि तोकिएको सुरक्षित सीमाभित्रै रहेको पाइएको छ। यद्यपि, आम उपभोक्ताको सुरक्षाका लागि ऊर्जा ड्रिंक्सको लेभलमा अनिवार्य रूपमा चेतावनी सन्देश (Warning) उल्लेख गर्नुपर्नेछ।
जारी निर्देशन अनुसार बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेह लगायतका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिहरूले ऊर्जा ड्रिंक्सको उपभोग नगर्न आग्रह गरिएको छ। क्याफिन सहन सक्ने स्वस्थ व्यक्तिले पनि एक दिनमा दुई क्यान (अर्थात ३३० मिलिलिटर) भन्दा बढी उपभोग गर्न नहुने तथा यसलाई पानी, जुस, दूध वा मोहीजस्ता पौष्टिक पेय पदार्थको सट्टा वा अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न सचेत गराइएको छ।
साथै, उत्पादक तथा विक्रेताहरूले विज्ञापन गर्दा प्रचलित कानुन बमोजिम पूर्वअनुमति लिनुपर्ने र लेभलमा उल्लेखित चेतावनी सन्देश तथा सुरक्षित मात्रा अनिवार्य रूपमा प्रसारण गर्नुपर्नेछ। वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्ड विपरीत भ्रम वा त्रास फैलाउने किसिमका गतिविधि नगर्न विभागले सबैमा आग्रह गरेको छ। यदि कुनै पनि खाद्य व्यवसायीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीतका कार्य गरेमा कानुन अनुसार कडा कारबाही हुने विभागले चेतावनी दिएको छ।

