गोलबजारका पूर्वमेयर तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, डेढ करोड बढी बिगो मागदाबी

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा रकम हिनामिना गरेको, सम्झौताविना अग्रिम राजस्व असुल गरेको तथा बाँकी राजस्व रकममा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

आर्थिक वर्ष २०७७/७८ मा वडा नम्बर ६ र ७ मा पर्ने पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजार सञ्चालनबापत राजस्व संकलन गर्ने प्रयोजनका लागि ठेकेदार वीरेन्द्र कुमार यादवलाई अमानतमा जिम्मेवारी दिइएको थियो। तर नगर कार्यपालिकाको निर्णय र प्रचलित कानूनविपरीत राजस्वमा छुट दिइएको तथा राजस्व संकलनमा व्यापक अनियमितता भएको आयोगको ठहर छ।

नगर कार्यपालिकाको निर्णयअनुसार नगरसभाबाट मात्र दिन मिल्ने कर छुटको अधिकार प्रयोग गरी ७३ लाख ३४ हजार नौ सय तेह्र रुपैयाँ राजस्व गैरकानूनी रूपमा छुट दिने निर्णय गरिएको आयोगले जनाएको छ। त्यस्तै अमानतमा संकलन गर्नुपर्ने राजस्व रकम ठेकेदारलाई दिई सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याइएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साह तेली, उपप्रमुख रेशमकुमारी थापा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीविरुद्ध जनही एक करोड ६० लाख ४६ हजार तीन सय चौवालीस रुपैयाँ १० पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागदाबी गरेको छ। यसैगरी तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो र राजस्व शाखा प्रमुख दिनेश कुमार सहनीविरुद्ध जनही एक करोड तेत्तीस लाख एघार हजार चार सय एक्काइस रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ। ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध पनि एक करोड ६० लाख ४६ हजार तीन सय चौवालीस रुपैयाँ १० पैसा बिगो कायम गरी भ्रष्टाचारबाट प्राप्त लाभ तथा गैरकानूनी कार्यमा संलग्नताको आरोपमा सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज