काठमाडौँ । नेपालको बालश्रमसम्बन्धी कानुनी व्यवस्थालाई समयसापेक्ष, परिष्कृत र व्यावहारिक बनाउँदै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन, २०५६’ मा व्यापक संशोधन गर्न नयाँ विधेयक अगाडि बढाएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवद्वारा प्रतिनिधिसभामा दर्ता गराइएको यस नयाँ संशोधन विधेयकअनुसार अब १३ वर्ष उमेर पूरा भएका बालबालिकाले आफ्नो शिक्षा, स्वास्थ्य र शारीरिक विकासमा कुनै पनि प्रकारको नकरात्मक असर नपुग्ने गरी तोकिएका हलुका किसिमका कामहरू गर्न पाउने कानुनी बाटो खुल्ने भएको छ।
यसअघि पुरानो ऐनमा हल्का काम गर्न पाउने न्यूनतम उमेर १४ वर्ष तोकिएको थियो भने अब यसलाई घटाएर १३ वर्ष कायम गरिनुका साथै गर्न पाइने कामहरूको दायरा र प्रकृतिलाई समेत स्पष्ट रूपमा कानुनी रूपमै वर्गीकरण गरिएको छ।
प्रस्तावित विधेयकको दफा ३ मा गरिएको व्यवस्थाअनुसार कसैले पनि १५ वर्ष उमेर पूरा नभएका बालबालिकाहरूलाई बालबालिकाको शारीरिक वृद्धि, मानसिक, बौद्धिक, संवेगात्मक, शैक्षिक तथा सामाजिक विकाससँग सम्बन्धित कामबाहेक अन्य कुनै पनि श्रममा लगाउन पूर्ण रूपमा निषेध गरिएको छ। यद्यपि, उपदफा (२) मा स्पष्ट व्यवस्था गर्दै १३ वर्ष उमेर पूरा भई १५ वर्ष नपुगेका बालबालिकाहरूले बाबु, आमा वा संरक्षकको अनिवार्य सहमति लिएर तथा आफ्ना नियमित शैक्षिक क्रियाकलाप र विद्यालय जाने समयलाई कुनै बाधा नपुग्ने गरी विद्यालयको समयभन्दा अगाडि, पछाडि वा सार्वजनिक बिदाका दिनहरूमा मात्रै कानुनले तोकेका हलुका किसिमका कामहरू गर्न सक्नेछन्। विधेयकको अनुसूची–१ मा त्यस्ता हलुका कामहरूलाई कृषि तथा पशुपालन, घरायसी काम, हस्तकला तथा सीपसम्बन्धी काम, व्यापारिक तथा कार्यालयसम्बन्धी काम र सामुदायिक तथा सामाजिक काम गरी पाँच मुख्य भागमा वैज्ञानिक ढङ्गले वर्गीकरण गरिएको छ।
कृषि तथा पशुपालन क्षेत्रतर्फ करेसाबारीमा बिरुवा रोप्ने र हल्का गोडमेल गर्ने, फूल तथा फलफूल टिप्ने, पशुलाई घाँसपात र दाना खुवाउने तथा दूध दुहुन सहयोग गर्ने जस्ता कार्यहरू राखिएका छन् भने घरायसी कामकाजभित्र घर सफाइ गर्ने, हलुका भाँडा माझ्ने, साना भाइबहिनीको स्याहार गर्ने, बासिङ मेसिनबाट लुगा धुने र बजारबाट हलुका सामान ल्याउनेलगायतका काम समेटिएका छन्। त्यसैगरी, हस्तकला तथा सीप अन्तर्गत उनी धागो कात्ने, हातले टोकरी बुन्ने, माटाका भाँडा बनाउने वा माला बुन्ने काम गर्न पाइनेछ भने व्यापारिक तथा कार्यालयगत क्षेत्रमा पसलमा सामान मिलाउने, कागजात फाइलिङ गर्ने, बिल काट्ने वा रिसेप्सन तथा टेलिफोनसम्बन्धी सानातिना सहयोग गर्ने कार्यहरू राखिएका छन्। सामाजिक तथा सामुदायिक क्षेत्रमा भने विद्यालय परिसर सरसफाइ, पुस्तकालयमा पुस्तक व्यवस्थापन, साना बालबालिकाहरूलाई ट्युसन पढाउने वा साक्षरता अभियानमा सघाउने तथा सांस्कृतिक तथा नाटक कार्यक्रमहरूमा सहभागिता जनाउने कार्यहरूलाई हलुका कामको मान्यता दिइएको छ।
बालबालिकालाई काममा लगाउँदा उनीहरूको सुरक्षा र कार्यअवधिलाई समेत अत्यन्त कडाइका साथ निर्धारण गरिएको छ। प्रस्तावित व्यवस्था अनुसार बालबालिकालाई दिनमा ६ घण्टਾ र एक सातामा ३६ घण्टाभन्दा बढी काममा लगाउन पाइने छैन भने १३ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि भने विद्यालय समय बाहेक दैनिक बढीमा दुई घण्टा र साप्ताहिक रूपमा १२ घण्टा मात्र काम गर्न पाउने सीमा तोकिएको छ। साथै, बालबालिकालाई बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्मको रात्रिकालीन समयमा काममा लगाउन पूर्ण निषेध गरिएको छ भने रोजगारदाताले काम गर्ने बालबालिकालाई लगातार तीन घण्टाको कामपछि अनिवार्य रूपमा आधा घण्टा आराम गर्ने समय र प्रत्येक हप्ता एक दिन पारिश्रमिकसहितको बिदा दिनुपर्नेछ। काम गर्ने बालबालिकालाई कुनै पनि प्रकारको भेदभावबिना समान कामको समान पारिश्रमिक दिनुका साथै उनीहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने, काममा लगाउनुअघि र पछि नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने तथा ३0 दिनभित्र सम्बन्धित स्थानीय तह र श्रम कार्यालयमा विवरण दर्ता गराउनुपर्ने कडा कानुनी दायित्व रोजगारदातालाई सुम्पिएको छ।
- समाचारमा प्रयोग गरिएको कार्टुन एआईबाट तयार गरिएको हो ।- सम्पादक

