काठमाडौँ । सर्वोच्च अदालतले आर्थिक वर्ष २०८२/०८३ मा उच्च र जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरूको कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गरेको छ । यस अवधिमा सर्वाधिक मुद्दा फैसला गर्ने १० जना न्यायाधीशहरूको सूची सार्वजनिक गर्दै सर्वोच्चले न्यायपालिकाको कार्यसम्पादनमा उल्लेख्य प्रगति भएको जनाएको छ ।
सार्वजनिक विवरणअनुसार उच्च अदालत जनकपुर र विशेष अदालतमा कार्यरत न्यायाधीश टेकनारायण कुँवर १ हजार ४२१ मुद्दा फैसला गर्दै पहिलो स्थानमा रहन सफल भएका छन् । त्यस्तै, १ हजार २२१ मुद्दा फर्स्यौट गर्दै न्यायाधीश टीकाराम आचार्य दोस्रो स्थानमा रहेका छन् भने १ हजार १६९ मुद्दा फैसला गरेका न्यायाधीश जगतबहादुर थापा तेस्रो स्थानमा रहेका छन् । सूचीको चौथो र पाँचौँ स्थानमा क्रमशः न्यायाधीश सोमकान्त मैनाली र नरिश्वर भण्डारी रहेका छन् । साथै, जगदीश घिमिरे, गोकर्ण डाँगी, कृष्णप्रसाद सुवेदी, राजुराम सिलवाल र कैलाशप्रसाद सुवेदी पनि १ हजारभन्दा बढी मुद्दा फैसला गर्ने उच्च अदालतका न्यायाधीशहरूको सूचीमा परेका छन् ।
सर्वोच्च अदालतका अनुसार यस आर्थिक वर्षमा देशभरका अदालतहरूमा दर्ता भएका कुल ३ लाख ५७ हजार २३ मुद्दामध्ये १ लाख ९६ हजार ४७४ थान मुद्दा फर्स्यौट भएका छन्, जुन ५५.०३ प्रतिशत प्रगति हो । अदालतहरूको तहगत तथ्याङ्क हेर्दा उच्च अदालतहरूले ७०.३६ प्रतिशत, जिल्ला अदालतहरूले ५५.६१ प्रतिशत र सर्वोच्च अदालतले २९.४५ प्रतिशत मुद्दा फर्स्यौट गरेका छन् ।
सर्वोच्च अदालतले आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला अदालततर्फ सर्वाधिक मुद्दा फैसला गर्ने १२ जना न्यायाधीशहरूको नामवली पनि सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारी १ हजार ११ मुद्दा फैसला गर्दै सूचीको शीर्ष स्थानमा रहन सफल भएका छन्।
त्यसैगरी, पर्सा जिल्ला अदालतका माधवप्रसाद घिमिरेले ९८४ मुद्दा र पाल्पा जिल्ला अदालतका हरिप्रसाद शर्मा उपाध्यायले ९७९ मुद्दा फैसला गरी क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्। चौथो र पाँचौँ स्थानमा रहेका गोरखा जिल्ला अदालतका विष्णुप्रसाद गौतम र धनुषा जिल्ला अदालतका कपिलमणी गौतमले समान ८३९ मुद्दा फर्स्यौट गरेका छन्।
यसैगरी, इलाम जिल्ला अदालतका रोशन गजुरेलले ८२९, रौतहट जिल्ला अदालतका मनोज के.सी.ले ८२७, मोरङ जिल्ला अदालतका दुर्गाबहादुर भुसालले ८२१, धनुषा जिल्ला अदालतका मनोजकुमार श्रीवास्तवले ८१८ र कैलाली जिल्ला अदालतका भुवनसिंह थापाले ८१५ मुद्दा फैसला गरेका छन्। सूचीको एघारौँ र बाह्रौँ स्थानमा रहेका रौतहट जिल्ला अदालतका पुण्यप्रसाद सापकोटाले ८०६ र सर्लाही जिल्ला अदालतका जीवनकुमार भण्डारीले ८०२ मुद्दा फैसला गर्दै आफ्नो कार्यसम्पादन उत्कृष्ट बनाएका छन्।

