काठमाडौँ। जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ। उनीविरुद्ध दायर भएको लिखत कीर्ते तथा झुट्टा विवरण पेश गरेकोसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार मेयर सिंहविरुद्ध दुईवटा छुट्टाछुट्टै कसुरमा मुद्दा दर्ता भएको थियो। जसमध्ये लिखत कीर्तेसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेश गरेको आरोपमा १५ हजार रुपैयाँ गरी कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी मागिएको हो। कानुनी प्रक्रियाअनुसार धरौटी रकम बुझाएमा उनले तारेखमा रहेर मुद्दा लड्न पाउनेछन्। मेयर सिंहमाथि लागेका यी गम्भीर आरोपहरूमाथि अदालतले थप कानुनी कारबाही अघि बढाएको छ।

