पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्ने समितिको ५ दिन थप म्याद थपियो

काठमाडौँ। पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेका विभिन्न आरोपहरूको छानबिन गरिरहेको उच्चस्तरीय समितिको म्याद थप गरिएको छ। सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरू, सेयर लगानी र सम्पत्तिको स्रोतका सम्बन्धमा अनुसन्धान गर्न गठित समितिको अवधि थप पाँच दिनका लागि लम्ब्याइएको हो।

उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित उक्त समितिको म्याद सोमबार सकिएको थियो। समितिका सदस्य अच्युतमणि नेउपानेका अनुसार, गुरुङको बयान लिने तथा आवश्यक तथ्य र प्रमाणहरूको अध्ययन गर्ने कार्य सम्पन्न भइसकेको छ। यद्यपि, संकलित तथ्यहरूको विस्तृत विश्लेषण गर्दै अन्तिम प्रतिवेदन तयार पार्न थप समय आवश्यक परेपछि समितिकै अनुरोधमा म्याद बढाइएको हो। मंगलबारदेखि लागू हुने गरी थपिएको यो समयसँगै समितिले अब छिट्टै आफ्नो निष्कर्ष सार्वजनिक गर्ने तयारी गरेको छ।

वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनको समयसीमासहित यो छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता नेउपाने सदस्यका रूपमा रहेका छन्। पूर्वगृहमन्त्री गुरुङ सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानको दायरामा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएपछि विवादमा तानिएका थिए। आफूमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि गुरुङले गत वैशाख ९ गते नै मन्त्री पदबाट राजीनामा दिएका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज