काठमाडौँ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। लामो समयदेखि खोजीको सूचीमा रहेका मेयर सिंहलाई मंगलबार बिहान पर्साको ठोरी क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार बिहान ६ बजेर १५ मिनेटको समयमा प्रहरीले सिंहलाई पक्राउ गरेको हो। जिल्ला अदालत पर्साले यसअघि नै लिखतसम्बन्धी कसुरमा पक्राउ गर्नका लागि सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको थियो। अदालतको सोही आदेशलाई कार्यान्वयन गर्दै प्रहरीले उनलाई ठोरीबाट पक्राउ गरेको हो। पक्राउ परेसँगै उनीविरुद्धको कानुनी प्रक्रिया सुरु भएको छ। अहिले उनलाई थप अनुसन्धानका लागि वीरगन्ज ल्याइँदैछ। लिखतसम्बन्धी कसुरमा नाम जोडिएपछि मेयर सिंह पछिल्लो समय सार्वजनिक रूपमा देखिएका थिएनन्। प्रहरीले पक्राउ पुर्जी जारी भएपछि नै उनको खोजी कार्यलाई तीव्रता दिएको थियो।

