काठमाडौँ । साढे ६ करोड रुपैयाँभन्दा बढी रकम ठगी र सम्पत्ति शुद्धीकरणको आरोप लागेकी टिकटकर तुलसा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। अधिकारीलाई नेपाल ल्याएसँगै हाल ललितपुर प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
उनीविरुद्ध ललितपुरको सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउन महिनामा नै जाहेरी दिएका थिए।
जाहेरी परेपछि फरार रहेकी अधिकारी विदेशमा लुकिछिपी बसेको पत्ता लागेपछि प्रहरीले उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको थियो। यसै आधारमा थाइल्याण्डमा पक्राउ परेकी उनलाई नेपाल ल्याइएको हो। प्रहरी अनुसन्धानका क्रममा अधिकारीको बैंक खातामा शंकास्पद रूपमा ठूलो रकमको कारोबार भएको पाइएपछि उनलाई ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दामा समेत अनुसन्धानको दायरामा राखिएको छ।
ललितपुर प्रहरीका अनुसार हाल उनलाई हिरासतमा राखी घटनाका सम्बन्धमा विस्तृत सोधपुछ तथा अनुसन्धान कार्य जारी राखिएको छ।

