काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्धका रिट निवेदन दर्ता गर्न कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको कडा आदेशको सर्वोच्च अदालत प्रशासनले ठाडो उल्लंघन गरेको छ। कामू प्रधानन्यायाधीश मल्लले सोमबार बिहान ११ बजे लिखित आदेश जारी गर्दै प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट र दरपिठविरुद्धका निवेदन दिउँसो १ बजेभित्र दर्ता गरी आफूलाई जानकारी गराउन निर्देशन दिएकी थिइन्। तर, तोकिएको समयसीमा नाघेर साँझ ५ बजिसक्दा समेत सर्वोच्च प्रशासनले ती निवेदनहरू दर्ता गरेको छैन।
आदेश कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी पाएका मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार मानबहादुर कार्की नै सर्वोच्च अदालतबाट बाहिरिएपछि दरपिठविरुद्धको निवेदन दर्ता हुन नसकेको हो।
सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने मुख्य निकाय मुद्दा शाखाका प्रमुख एवं सहरजिस्ट्रार अर्जुन कोइरालाले आफू तालिममा रहेको बताएका छन्। कोइरालाको प्रत्यक्ष निर्देशनविना यस्ता रिट निवेदनहरू दर्ता नहुने प्रशासनिक अभ्यास रहेको छ। मुख्य रजिस्ट्रार पौडेल सोमबार बिहानैदेखि कामू प्रधानन्यायाधीशसँगै जोडिएको आफ्नो कार्यकक्षमा अनुपस्थित रहेको र उनी मिटिङको बहाना बनाएर बाहिरिएको अदालतका एक कर्मचारीले पुष्टि गरेका छन्।
रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिउँसो ५ बजेसम्म पनि निवेदन दर्ता हुन नसकेको र कर्मचारीहरू कार्यकक्ष नै छोडेर हिँडेको भन्दै आक्रोश पोखेका छन्। कोही मिटिङ त कोही तालिमको बहाना बनाएर पन्छिएपछि कानून व्यवसायीहरू सर्वोच्च परिसरमा अन्योलमा परेका छन्।
यसअघि सोमबार बिहान कामू प्रधानन्यायाधीश मल्लले रिट दर्ता नभएको विषयमा मुख्य रजिस्ट्रार पौडेलसँग स्पष्टीकरण सोधेकी थिइन्। त्यस क्रममा सर्वोच्च प्रशासन र स्वयं प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माले नै रिट दर्ता प्रक्रियामा अवरोध सिर्जना गरेको थाहा पाएपछि उनले त्यसलाई ‘न्यायप्राप्तिको बाटोमा अवरोध’ ठहर गर्दै कडा आदेश लेखेकी थिइन्। तर, प्रधानन्यायाधीशको लिखित आदेश र निर्देशनलाई समेत लत्याउँदै मुद्दा शाखाका जिम्मेवार अधिकारीहरू नै कार्यकक्ष खाली गरेर हिँडेपछि सर्वोच्च अदालतभित्रको प्रशासनिक अराजकता र विधिको शासनमाथिको प्रहार थप उत्कर्षमा पुगेको छ।

