काठमाडौँ । मन्त्रिपरिषद् बैठकद्वारा गत वैशाख २४ गते ३३ औँ प्रधानन्यायाधीशका रूपमा प्रस्तावित डा. मनोजकुमार शर्माविरुद्ध उजुरी दिने सार्वजनिक म्याद आज सोमबार समाप्त हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार प्रस्ताव अनुमोदन हुनुपूर्व संसदीय सुनुवाइ हुनुपर्ने हुनाले उनीविरुद्ध उजुरी आह्वान गरिएको थियो।
संसद् सचिवालयका अनुसार प्राप्त भएका उजुरीहरू भोलि मंगलबार सुनुवाइ समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिने छ। त्यसपछि ती उजुरीका आधारमा डा. शर्मासँग प्रश्न सोधिने र उनलाई आगामी बुधबार जवाफ दिने मौका मिलाइएको छ।
संसदीय सुनुवाइ समिति स्रोतका अनुसार बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेभित्र उजुरीउपर डा. शर्माको जवाफ सुन्ने र उनको सिफारिसलाई निर्णयार्थ पेस गर्ने तयारी भइरहेको छ। यदि उनी बुधबारको बैठकबाट अनुमोदित भएमा सम्भवतः बिहीबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हाल्न कार्यकक्षमा बहाली हुनेछन्।
नेपालको संसदीय सुनुवाइको इतिहासमा यसअघि २०७५ साउन १८ गते तत्कालीन प्रधानन्यायाधीश प्रस्तावित दीपकराज जोशी मात्र समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत भएका थिए। त्यसबाहेक अन्य कुनै पनि उच्च नियुक्ति सिफारिस अस्वीकृत भएको इतिहास छैन। यद्यपि, वर्तमान संसदीय सुनुवाइ समितिमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत रहेका कारण डा. शर्माको सिफारिस अस्वीकृत हुने सम्भावना निकै न्यून देखिएको छ।

