काठमाडौँ। स्मार्ट सेलको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गरेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई मंगलबार राति सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित मदनभण्डारी राजमार्गबाट नियन्त्रणमा लिएको हो।
बैंकको लोन रिकभरी कमिटीका अध्यक्ष समेत रहेका पाण्डे मोबाइल स्विच अफ गरी भाग्दै गरेको अवस्थामा सवारी जाँचका क्रममा समातिएका हुन्। सिआइबीले उनी लिलामी प्रक्रियामा प्रत्यक्ष संलग्न देखिएको जनाएको छ।
स्मार्ट सेल टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ बमोजिम उसको सम्पूर्ण संरचना र प्रणाली नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा पुगेको थियो। तर, प्राधिकरणको स्वामित्वमा आइसकेको सो सम्पत्तिलाई बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यले गैरकानूनी रूपमा लिलामी गरी ठगी गरेको प्रहरीको दाबी छ। बैंकले गत असोज ३ गते लिलामीको सूचना निकाल्दा घर बहाल र विद्युत महसुल वापतको ४० करोड रुपैयाँ समेत एकमुष्ठ कबुल गर्नुपर्ने शर्त राखेको थियो। बोलपत्रदाताबाट सो रकम असुल गरे पनि बैंकले हालसम्म घरधनी र प्राधिकरणलाई उक्त रकम नबुझाई ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप लागेको छ।
यसअघि यही प्रकरणमा स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। २०७० सालमा अनुमति लिएको स्मार्ट सेलले नवीकरण नगरेपछि स्वतः रद्द भएको अनुमतिपत्र र त्यसपछिको सम्पत्ति व्यवस्थापनमा भएको बदमासीबारे सिआइबीले केही समयदेखि अनुसन्धान गरिरहेको थियो। पक्राउ परेका सिइओ पाण्डेमाथि थप कानूनी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

