काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आफ्नो पद तथा गोपनीयताको विधिवत् शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शीतल निवासमा बुधबार आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका हुन्। ७८ वर्षीय केसी गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभा सदस्यमा चुनिएका थिए।
ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट शपथ लिएसँगै अब केसीले अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने बाटो खुलेको छ। कार्यतालिका अनुसार उनले आगामी चैत १२ गते बिहीबार प्रतिनिधि सभाका अन्य २७४ सदस्यहरूलाई शपथ खुवाउने कार्यक्रम रहेको छ। नयाँ सभामुखको चयन नहुँदासम्म प्रतिनिधि सभाको बैठक सञ्चालन र अध्यक्षता गर्ने जिम्मेवारी पनि केसीकै काँधमा रहनेछ। हालै सम्पन्न निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधि सभाको गठन भएको छ।

