रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा आज पनि सकिएन बहस: अब पर्सि हुनेछ अन्तिम सुनुवाइ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी विवादमा सर्वोच्च अदालतको सुनुवाइ फेरि सरेको छ। महान्यायाधिवक्ता कार्यालयले मुद्दा फिर्ता लिने गरी गरेको निर्णयविरुद्ध परेको रिटमाथि आज पनि बहस नसकिएपछि सर्वोच्चले यसलाई ‘हेर्दाहेर्दै’ मा राखेर पर्सिका लागि पेशी तोकेको हो।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा आज निवेदक पक्षका कानुन व्यवसायीहरूले आफ्नो बहस टुंग्याएका छन्। अब सरकारी वकिल र लामिछानेका तर्फबाट बहस हुन बाँकी छ। गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको यो मुद्दाले राजनीतिक र कानुनी वृत्तमा ठूलो चासो जगाएको छ।

सहकारी ठगी प्रकरणसँग जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहँदा मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट दायर गरिएको थियो। आगामी पर्सिको सुनुवाइमा बाँकी पक्षको बहस सकिएपछि अदालतले यसबारे ठोस आदेश दिने सम्भावना छ।

सम्बन्धित समाचार

ताजा न्यूज