नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते, तीन प्रकारका कागजातसहित उपस्थित हुन संसद सचिवालयको सूचना

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण आगामी चैत १२ गते दिउँसो २ बजे हुने भएको छ। संघीय संसद सचिवालयले आज एक सार्वजनिक सूचना जारी गर्दै नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहणका लागि सिंहदरबारस्थित नवनिर्मित संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा उपस्थित हुन जानकारी गराएको हो।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम निर्धारित समयभन्दा दुई घण्टा अगावै अर्थात् दिउँसो १२ बजे नै सुरु हुने तयारी रहेकाले सोहीअनुसार उपस्थित हुन आग्रह गरिएको छ।

शपथ ग्रहणका लागि उपस्थित हुँदा सांसदहरूले अनिवार्य रूपमा तीन प्रकारका कागजातहरू साथमा ल्याउनुपर्ने सचिवालयले जनाएको छ। जसमा निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको भनी प्रदान गरेको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो रहेका छन्। यी कागजातबिना शपथ प्रक्रियामा सहभागी हुन कठिनाइ हुने भएकाले अनिवार्य रूपमा व्यवस्था गर्न सूचित गरिएको छ।

सचिवालयले शपथ ग्रहण समारोहमा उपस्थित हुँदा सांसदहरूलाई आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाक वा औपचारिक पोसाकमा आउन विशेष आग्रह गरेको छ। यसका साथै, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि पनि छुट्टै व्यवस्था गरिएको छ। मातृभाषामा शपथ लिन चाहनेले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रतिलिपि शपथ कार्यक्रम हुनुभन्दा तीन दिन अगावै संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने प्रावधान सूचनामा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज