काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ बिहीबार स्थगित भएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासमा तोकिएको पेसी रायमाझीका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका हुन्। रायमाझीको मुद्दा स्थगित भएसँगै लगाउमा रहेको बेचन झाको निवेदनमाथिको सुनुवाइ पनि स्वतः स्थगित हुन पुगेको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ (२) बमोजिम थुनामुक्त हुन माग गर्दै उनीहरूले उच्च अदालतमा निवेदन दिएका थिए। यसअघि जिल्ला अदालत काठमाडौँले सोही दफा अन्तर्गत उनीहरूलाई थुनामुक्त गर्न अस्वीकार गरेपछि रायमाझी र झा उच्च अदालत पुगेका हुन्। रायमाझीले गत पुस २५ गते र झाले पुस ११ गते जिल्ला अदालतको निर्णय विरुद्ध पुनरावेदन गरेका थिए। कानुनको उक्त दफामा मुद्दाको कारबाहीको जुनसुकै अवस्थामा पनि अभियुक्त कसुरदार होइन भन्ने प्रमाणित हुने मनासिब आधार देखिएमा अदालतले थुनाबाट छाड्ने आदेश दिन सक्ने व्यवस्था छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीसहित १६ जनालाई २०८० असार १ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही आदेश अनुसार हाल कारागारमा रहेका रायमाझी र झाले जिल्ला अदालतको पछिल्लो आदेशलाई चुनौती दिँदै थुनामुक्तिको माग गरिरहेका छन्। बिहीबारको सुनुवाइ स्थगित भएसँगै उनीहरूको निवेदनमाथिको बहस अर्को पेसीका लागि सरेको छ।

