काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिटमा आज मङ्गलबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सोमबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। आज सोही इजलासमा बाँकी बहस हुने कार्यसूची रहेको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटाएर सहकारी ठगीमा मात्र मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्। सोही निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ ले छुट्टाछुट्टै रिट दायर गरेका थिए। महान्यायाधिवक्ताले सदर गरेको ७ पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मा लामिछानेलाई अन्य दुई गम्भीर प्रकृतिका मुद्दाबाट उन्मुक्ति दिने गरी निर्देशन दिइएको निवेदकहरूको दाबी छ।
आजको बहसमा निवेदक पक्ष र सरकारी वकिलहरूको बहस सकिएमा अदालतले महान्यायाधिवक्ताको निर्णय कार्यान्वयनका सन्दर्भमा आवश्यक आदेश जारी गर्ने सम्भावना छ। यस मुद्दाको फैसलाले लामिछानेको कानुनी संकट र राजनीतिक भविष्यका साथै सहकारी पीडितहरूको न्याय प्रक्रियामा समेत ठूलो प्रभाव पार्ने देखिएको छ।

