काठमाडौँ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग खेपिरहेका नेपाली कांग्रेसका निवर्तमान सांसद एवं अर्थ समितिका पूर्वसभापति सन्तोष चालिसेसँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले अभियोगबारे इन्कारी बयान दिएका चालिसेलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेमाथि ३ करोड ६८ लाख रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको दाबी गर्दै गत मंसिर २८ गते मुद्दा दायर गरेको थियो। गोकर्णेश्वर नगरपालिकाको मेयर रहँदा उनले अस्वाभाविक रूपमा सम्पत्ति जोडेको अख्तियारको अनुसन्धानले देखाएको छ। छानबिनका क्रममा उनको कुल ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति देखिएकोमा ४ करोड ८८ लाख रुपैयाँको मात्र वैध स्रोत खुलेको र बाँकी रकमको स्रोत नखुलेपछि त्यसैलाई बिगो कायम गरी मुद्दा चलाइएको हो।
यस प्रकरणमा अख्तियारले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि चालिसेकी पत्नी मन्दिरा, छोराहरू सागर र सञ्जिव तथा बुहारी प्रमिला पोखरेललाई समेत प्रतिवादी बनाएको छ। २०७४ जेठदेखि गोकर्णेश्वरको मेयरका रूपमा पाँच वर्ष कार्यकाल पुरा गरेपछि चालिसे काठमाडौँ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले सार्वजनिक पदमा रहँदा आफ्नो वास्तविक सम्पत्ति लुकाई झुट्टा विवरण पेस गरेको र सम्पत्ति शुद्धीकरण समेत गरेको अभियोग पत्रमा उल्लेख छ।

