संविधानकै आधारमा अघि बढ्नुपर्ने गगन थापाको धारणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको संविधानलाई निरन्तरता दिँदै त्यसैको आधारमा अघि बढ्नुपर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले संविधानलाई बाहिर राखेर समाधान खोज्ने प्रयासले दीर्घकालीन संकट निम्त्याउने चेतावनी दिए।

“संविधानलाई कायमै राखेर संशोधन र परिमार्जन गर्न सकिन्छ, नेतृत्व परिवर्तन वा पार्टी सुधारका कुरा गर्न सकिन्छ, तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने त्यसलाई सम्हाल्न गाह्रो पर्छ,” थापाले भने।

उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई समाजले अस्वीकार गरेको उदाहरण दिंदै नागरिक अधिकार खोस्ने कुनै पनि अभ्यासले आन्दोलन निम्त्याउने उल्लेख गरे।

महामन्त्री थापाले गल्ती गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने र पुनर्निर्माणमा सबैको साथ आवश्यक पर्ने बताए। साथै, आफ्नोतर्फबाट पनि सुधारको प्रतिबद्धता जनाउँदै माफी मागेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज