नेपाल रेडक्रसमा विवाद चुलियो, तदर्थ समिति विघटनको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति विघटनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

विनोदकुमार शर्माको नेतृत्वमा रहेको सोसाइटीको तदर्थ समिति अन्तर्राष्ट्रिय निकाय आईएफआरसी (IFRC) द्वारा निलम्बन भइसकेको भन्दै तत्कालीन अध्यक्ष डा. सुदर्शन नेपाल नेतृत्वको पक्षले समितिलाई अवैधानिक ठहर गर्दै रिट दायर गरेको हो। रिटमा सो समितिको गठन नै कानुन विपरीत भएको दाबी गरिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा आज प्रारम्भिक सुनुवाइ भइरहेको छ।

सरकारले नेपाली कांग्रेस र एमालेबीचको सहमतिको आधारमा हालको ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो। सो निर्णयविरुद्ध अघिल्लो समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्, र तदर्थ समितिका पदाधिकारीहरूलाई प्रतिवादी बनाउँदै रिट दायर गरेको हो।

सरकारले वर्तमान समितिलाई विधान संशोधन गरेर ३ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्यादेश दिएको छ। तर, सोसाइटीमा डा. नेत्र तिम्सिनाको अध्यक्षतादेखि नै तदर्थ व्यवस्थाले निरन्तरता पाउँदै आएको आरोप पनि रिटमा उल्लेख गरिएको छ।

यो विवादसँगै नेपाल रेडक्रस सोसाइटीको आन्तरिक राजनीति फेरि चुलिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज