रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध रविको रिट उच्च अदालतमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राखी अनुसन्धान अघि बढाउन आदेश दिएपछि सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता गरिएको हो।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने गत चैत २५ देखि कारागारमा छन्। हाल उनी ललितपुरको नख्खु कारागारमा रहेका छन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई पछि सर्वोच्च अदालतले पनि सदर गरेको थियो।

यसअघि लामिछानेले रुपन्देही जिल्ला अदालतमा आफू ठगी प्रकरणमा संलग्न नरहेको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न आफू प्रतिवद्ध रहेको भन्दै २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित जमानतमा रिहा गर्न माग गरेका थिए।

जिल्ला अदालतले उक्त माग अस्वीकार गरेपछि उच्च अदालतमा रिट दर्ता भएको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुँवरले जानकारी दिए।

सम्बन्धित समाचार

ताजा न्यूज