काठमाडौँ । सत्य र न्यायको खोजी अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले विशेष अदालतका निवर्तमान् अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरविरुद्ध न्याय परिषदमा विस्तृत उजुरी दर्ता गरेका छन्। उजुरीमा कुँवरको कार्यशैली न्यायिक मर्यादा, आचारसंहिता, विशेष अदालत ऐन, २०५९ र नेपालको संविधानको मर्म विपरीत रहेको आरोप लगाइएको छ।
श्रेष्ठले दर्ता गरेको उजुरीमा कुँवरले राजनीतिक नेतासँग नजिक सम्बन्ध राख्ने, विशेष अदालत ऐनको दायरा नाघी अवैधानिक रूपमा इजलास गठन गर्ने, स्वतन्त्र अदालतको अवधारणा विपरीत नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रमाणपत्र लिने जस्ता गतिविधि गरेको उल्लेख छ। यस्ता क्रियाकलापले न्यायपालिकाको गरिमा र जनआस्था गम्भीर रूपमा कमजोर पारेको दाबी गरिएको छ।
उजुरीमा प्रस्तुत मुख्य आरोपहरू यस प्रकार छन् :
राजनीतिक सम्पर्कको आरोप: नेपाल वाच डट कममा प्रकाशित तस्बिरमा कुँवर नेपाली काँग्रेसका महामन्त्री गगन थापाको सम्पर्क कार्यालयमा भेटिएको दाबी। यो न्यायाधीशको आचारसंहिता विपरीत भएको र त्यसको प्रमाणका रूपमा सार्वजनिक सिसिटिभी फुटेज परीक्षणको माग।
अवैधानिक इजलास गठन: २०८२ असार १० गतेको आदेशमा ६ न्यायाधीशको इजलास गठन गरिएको, जुन विशेष अदालत ऐन, २०५९ को प्रावधान विपरीत भएको दाबी। ऐनले प्रत्येक इजलासमा ३ न्यायाधीश मात्र रहने व्यवस्था गरेको छ।
गुणस्तर प्रमाणपत्रको विवाद: विशेष अदालतले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त गरेको ISO प्रमाणपत्रलाई ‘न्यायिक गरिमा विरोधी स्टण्ट’ भन्दै आपत्ति। न्यायालय कुनै सरकारी निकाय अन्तर्गत नपर्ने हुँदा यस्तो प्रमाणपत्र लिने कार्य स्वतन्त्र न्यायपालिकाको सिद्धान्त विपरीत भएको आरोप।
न्यायिक आदर्श र अन्तर्राष्ट्रिय मान्यता उल्लङ्घन: कुँवरको कार्यशैलीले नेपालको न्यायाधीश आचारसंहिता २०७४ मात्र नभई अन्तर्राष्ट्रिय ‘बेंगलोर प्रिन्सिपल अफ जुडिसियल कन्डक्ट’ को समेत उल्लङ्घन गरेको दाबी।
श्रेष्ठले उजुरीमा भनेका छन्, “न्यायपालिकाको मान मर्दन हुने गरी कुँवरले गरेका कार्यहरूले जनविश्वास खस्काएको छ, त्यसैले तत्काल अनुसन्धान गरी कानूनी कारबाही गर्नुपर्छ।”
उजुरीमा तस्बिर, आदेशको प्रतिलिपि, र गुणस्तर प्रमाणपत्र प्रमाणका रूपमा संलग्न गरिएको छ। साथै, यस्ता कार्यहरूमा दोषी देखिए कुँवरमाथि न्याय परिषद् ऐन, २०७३ र संविधानको धारा १५३ बमोजिम कठोर कारबाही गर्न माग गरिएको छ।
शुक्रबार (आज) बसेको न्यायपरिषद्को बैठकले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा गरेको छ । कुँवरको ठाउँमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षमा सिफारिस गरेको छ। यस उजुरीबारे हालसम्म कुँवरको तर्फबाट कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन।

