काठमाडौं । न्यायपरिषद्ले विशेष अदालतको नेतृत्वसहित सदस्यहरूको नयाँ टोली गठनका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षका लागि परामर्श दिएको हो।
विशेष अदालतका अध्यक्ष तथा सदस्यहरू सरकारद्वारा न्यायपरिषद्को सिफारिसमा नियुक्त हुने व्यवस्था छ। यसअन्तर्गत परिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सदस्यका रूपमा तोक्ने परामर्श दिएको छ।
सदस्यमा सिफारिस हुनेहरूमा उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइराला छन्।
हाल विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर उच्च अदालत जनकपुरमा सरुवा भएका छन्। त्यस्तै, सदस्य तेजनारायण सिंह राई उच्च अदालत पोखरा, रामबहादुर थापा उच्च अदालत जनकपुरको राजविराज इजलास, मुरारीबाबु श्रेष्ठ उच्च अदालत जनकपुर र रितेन्द्र थापा उच्च अदालत वीरगञ्जमा सरुवा भएका छन्।
दुई वर्षदेखि एउटै स्थानमा कार्यरत विशेष अदालतको हालको ‘सेट’ परम्परागत सरुवा अभ्यासअनुसार परिवर्तन गरिएको हो। सदस्य बिदुर कोइराला भने एक वर्षअघि मात्र विशेष अदालतमा आएका कारण यथावत् रहनेछन्।