अदालत शब्द उच्चारण गर्दैमा मात्र मनमा सम्मानको भाव झल्किन्छ । मनमा आदर जाग्छ, श्रद्धाले शिर निहुरिन्छ । अदालत परिसर पुगे बित्तिकै न्याय र शान्तिको अनुभूति हुन्छ । मनमा आत्मविश्वास हुन्छ । यो एउटा मानिसहरूको आशाको धरोहर पनि हो । अदालत न्यायको मन्दिर हो । हिजो धार्मिक युगमा जसरी मानिसहरू धार्मिक संस्थाहरूप्रति नतमस्तक हुन्थे आज लोकतन्त्रमा अदालतप्रति । वास्तवमा अदालत लोकतन्त्रको मन्दिर हो । न्यायको खोजी अदालतमा हुन्छ । मध्य युगमा ईश्वरको अदालतमा न्याय निरूपण हुन्थ्यो अनि ईश्वरको फैसला मानिसहरूलाई मान्य थियो । समाज धर्म केन्द्रित थियो वा धर्म शक्ति थियो । मन्दिर, मस्जिद, चर्च जस्ता धार्मिक संस्थाहरूको हातामा न्याय वितरण गरिन्थ्यो । पाप र धर्मको आधारमा फैसला हुन्थ्यो । व्यक्तिको नैतिकता, सत्कर्म, वचन तथा कर्मजस्ता कुराहरू पनि पनि फैसलाको आधारको रूपमा हेरिन्थे ।
जसरी मध्य युगिन समाजमा न्यायको जिम्मा ईश्वरलाई थियो भने आज लोकतन्त्रमा न्यायको जिम्मा अदालतलाई छ । कानुनी शासनमा अदालत मन्दिर हो । लोकतन्त्रको आधार स्तम्भ हो । लोकतन्त्र हुर्काउन र विकास गर्न अदालतको भूमिका हुन्छ । अदालत एउटा संवैधानिक निकाय हो । यसले राज्यको न्याय प्रणालीको प्रतिनिधित्व गर्छ । न्याय सम्पादन गर्ने काम गर्छ । अदालतको न्याय सम्पादन गर्ने निश्चित मान्यता हुन्छ । निश्चित प्रक्रिया हुन्छ र त्यही प्रक्रियाबाट न्यायको निरूपण हुन्छ । निरूपण गर्ने क्रममा अदालतले प्रमाणको आधार लिन्छ । बिना प्रमाण त अदालत बोल्न सक्दैन । अदालतको फैसला प्रमाणको आधारमा हुन्छ । पीडितप्रति भन्दा पनि प्रमाणप्रति अदालत ढल्किन्छ । अदालतको फैसलामा प्रमाण निर्णायक हुन्छ । मानवीय विश्वास र भावनाजस्ता कुराहरूको आधारमा अदालतले न्याय निरूपण गर्दैन ।
लोकतन्त्र भनेको कानुनको शासनव्यवस्था हो । नेपालमा अहिले लोकतन्त्र छ । यो उन्नत व्यवस्था हो । तैपनि हाम्रो समाजको गरिबी, अशिक्षा, बेरोजगारी र पछौटेपनका कारण लोकतन्त्रको अपेक्षाकृत विकास हुन सकेको छैन । अझै पनि हाम्रो समाज परम्परागत मूल्यमान्यतामा आधारित छ । जनसङ्ख्याको ठुलो हिस्सा सीमान्तकृत समुदाय छ । उक्त समुदाय आर्थिक, सामाजिक, संस्कृति तथा जातीय परम्पराका कारण पछि परेका छन् । राज्यको मुलप्रवाहमा समाहित हुन सकेका छैनन् ।
नेपाली समाजमा आज पनि सामाजिक न्याय कमजोर छ । राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समाजमा विभेद प्रशस्त छन् । नेपाली समाजमा सामन्तवाद अझै पनि व्याप्त छ । शोषण, दमन, थिचोमिचो र असमानता छ्यापछ्याप्ती छन् । अधिकांश जनताहरू गरिबीका चपेटामा छन् । जनताको चेतना समय अनुसार विकास भएको छैन । यो वर्ग समुदायभित्रको गरिबी र अशिक्षाको फाइदा अर्को वर्गलाई पुगेको छ । अर्को वर्गले उनीहरूको अज्ञानता र इमानदारिताको फाइदा लिइरहेको छ । ती सीमान्तकृत समुदायमा शिक्षाको पहुँच नभएपछि चेतनाको विकास पनि हुन सकेको छैन । कानुनी ज्ञान तथा अदालती प्रक्रियाबारे थाह नहुँदा प्रत्यक्ष फाइदा शोषक वर्गलाई भएको छ । सिधा, इमानदार भएको कारण थप उनीहरू शोषित र पीडित हुनुपरेको छ ।
शोषक वर्गले त्यो सीमान्तकृत समुदायलाई न्याय माग्न नमिल्ने गरी शोषण गरेको छ । पैसाको कारोबार भएको छ । जग्गाजमिनको स्वामित्व आदानप्रदान भएको छ । यस्ता जति पनि व्यवहारहरू भएका छन् विश्वासको आधारमा गरेका छन् । यदि कुनै लिखत गरेको छ भने पनि शोषक वर्गले कानुनमा माथि पर्ने गरी गरेको छ । सबै कानुनी प्रमाणहरू शोषक वर्गको हातमा छ । मुद्दा मामिला गर्ने केही आधार छैन, हिजो विश्वास र सत्यताको आधारमा व्यवहार गरे तर आज उनीहरू न्याय माग्ने बेला आधारहीन बनेका छन् । मुद्दा मामिला गर्ने ठाउँ छैन, मुद्दा गरे पनि तीनै शोषक वर्गले जित्छन् । समाजको यो सीमान्तकृत समुदाय जो अन्यायको चपेटामा छ, सोही वर्ग न्यायबाट विमुख छ । अदालती न्यायबाट वञ्चित छ । अदालतले उनीहरूमाथि सहानुभूतिसम्म राख्छ, न्याय दिन सक्दैन । अदालतले न्याय प्रमाणको आधारमा दिन्छ । तर सम्बन्धित समुदाय प्रमाणको आधारमा मुनि छ । शोषक वर्गले उनीहरूमाथि प्रमाणहीन अन्याय गरेको छ । उनीहरूले इमानदारिता, सत्यता र वचनको आधारमा व्यवहार गरे तर ती कुराहरू अदालतको न्याय निरूपणमा कमजोर ठहरिन्छन् ।
हाम्रो समाजमा ठानिने ठुलाठालु, गन्नेमान्ने र धूर्तहरूले सीमान्त वर्गमाथि थिचोमिचो गरी अन्यायमा पारेका छन् । शोषण गरेका छन् । जति पनि व्यवहार र दुर्व्यवहार गरे पनि प्रमाण छोडेका छैनन्, लिएका मात्र छन् । जो इमानदार वर्ग छ, उ नैतिकता र सत्यतामा विश्वास गर्छ र त्यही आधारमा व्यवहार गर्छ, जुन कुरा कानुनी छैन । अब उनीहरू अदालतमा न्याय माग्न पनि असमर्थ छन्, किनकि उनीहरूसँग केही पनि प्रमाण छैन । शोषक वर्ग नै कानुनी आधारमा सबल छ । विश्वासको कुनै लिखत हुँदैन । वचनको कुनै प्रमाण हुँदैन । समाजमा उनीहरू यतिकै कमजोर छन् उनीहरूको आवाज सुनिँदैन । अब न्यायको लागि अन्तिम गन्तव्य अदालत हो तर अदालतमा बुझाउने प्रमाण उनीहरूसँग छैन । बिना प्रमाण अदालत उनीहरूको पक्षमा सहयोग गर्न सक्दैन । विकल्पविहीन बनेका छन् उनीहरू । अब उनीहरूको न्यायको लागि भगवान् मात्र बाँकी छन् । भगवानको मूर्ति अगाडि पुगेर सराप्छन् । गाली गर्छन् अनि भगवानसँग न्यायको खातिर हात जोड्छन् । अरू उनीहरूसँग केही उपाय छैन ।
अब उनीहरूले कसरी न्याय पाउँछन् त? कसले उनीहरूलाई न्याय दिलाउँछ त? कानुनको आँखामा मानिसहरूको भावना, विश्वास र दुखजस्ता कुराहरू गणना गरिँदैन । कानुन अन्धो हुन्छ । उनीहरूमाथि अन्याय भएको कुरा महसुस गर्न सके पनि फैसला त प्रमाण हुनेहरूको पक्षमा हुन्छ । शोषकहरूले कानुनी प्रमाण हात पारेका छन् । निमुखाहरूको अगाडि इमानदारिता बाहेक केही पनि बाँकी छैन । जसको कारण पनि नेपाली समाजमा न्यायको एकदम जरुरत छ र न्याय प्रणाली चुस्त दुरुस्त हुनु जरुरी छ । न्याय प्रणाली दरो उभियो भने मात्र समाजबाट बिस्तारै असमानता र अन्याय विस्थापित हुँदै जान्छ ।
आज धेरै नेपाली जनताहरू अन्यायमा परेका छन् । गरिब, पिछडिएका वर्ग, सीमान्तकृत र निमुखा जनताहरू न्यायबाट विमुख छन् । जुन जनताहरूलाई न्यायको आवश्यकता छ तर उनीहरू न्याय पाइरहेका छैनन् । जुन वर्ग शोषित पीडित छ, उनीहरू नै अन्यायमा परेका छन् । शोषक वर्गहरूले अन्याय गरेका छन् तर उनीहरूले नै न्याय पाउँछन् किनभने कानुनी आधार र प्रमाण उनीहरूसँग छ । अदालतले कानुनी प्रमाण खोज्छ । व्यक्तिगत इमानदारिता प्रमाणपत्र कानुनी प्रमाणभन्दा कमजोर ठहरिन्छ । लेनदेनमा आधारित कारोबारहरू इमान र जमानको आधारमा छन् तर इमानजमान अदालतको आँगनमा लुते हुन्छन् । जसले उनीहरूमाथि शोषण गरेका छ उसँग उनीहरू विरुद्ध प्रमाण छ । पीडित त अदालतबाट पनि पीडित हुने अवस्था छ ।
अदालत न्यायको मन्दिर हो तर न्याय माग्नेलाई मात्र मिल्छ । यो सिद्धान्तका कारण आवाजविहीनहरू न्यायको पहुँचभन्दा पर छन् । जो वर्ग इमानदार छ । सत्य छ तर वचनको कुरा अदालतमा पुष्टि हुँदैन । तैपनि अदालतमा विवेक पनि एउटा फैसलाको आधार हो । समाजको संरचनाभित्र शोषित पीडित हुनेहरूलाई अदालतले न्यायको मुलप्रवाहमा ल्याउनुपर्छ । पछिल्लो समय यो प्रक्रिया अदालतमा सकारात्मक बन्दै पनि गएको छ । समाजमा व्याप्त अन्याय विरुद्धको आवाजहरू अदालतसम्म आइपुग्न थालेका छन् । सिमान्तकृतहरु वर्गहरू चेतनाको विकास बढ्दै गएको कारण आफ्नो हक अधिकार र अन्यायको विरुद्ध बोल्न थालेका छन् । यसको कारण समाज सशक्तीकरण उन्मुख छ भन्ने देखिन्छ । अदालतमा आउने मुद्धाहरुको प्रकृतिले पनि समाजको बारेमा थाह हुन्छ । महिला हिंसा, सम्बन्ध विच्छेद जस्ता मुद्दाहरू बढ्नु पनि समाज सशक्तीकरणको सङ्केत हो । मुद्दा मामिला आफैमा राम्रो विषय नभए पनि थिचोमिचोमा परेकाहरूले आवाज उठाउनु र अधिकार खोज्नु एउटा समाज विकासको सङ्केतको रूपमा पनि लिन सकिन्छ । नेपाली समाजमा चेतनाको विकास बिस्तारै हुँदै गइरहेका छ । हिजो कसैका विरुद्ध बोल्न नसक्नेहरू आज तीनैका विरुद्ध मुद्दा गर्न तयार देखिन्छन् । अन्याय र अत्याचारको विरुद्ध कानुनी लडाई लड्ने चेतनाको विकास हुनु समाजको विकास हुनु हो ।
- यो लेखमा प्रयोग गरिएको कार्टुन एआईबाट तयार गरिएको हो ।-सम्पादक
हेर्नुहोस हाम्रो एआई प्रयोग नीति