नेपाल, प्राकृतिक स्रोतको खानी भएर पनि आर्थिक समृद्धिको बाटोमा लम्कन ढिलाइ भएको देश। यहाँ जल, जङ्गल र जमिनको उपयोगले समृद्धिको सपना देखाइरहँदा, यिनै स्रोतहरूले सामुदायिक द्वन्द्व पनि निम्त्याइरहेका छन्। गाउँ/ गाउँबिच, छिमेकी/ छिमेकीबिचको मनमुटाबले कतिपय ठाउँमा हिंसासम्म पुगेका घटनाहरू हामीले देखेका छौँ। अझ, सङ्घीयता पछि प्रदेश र पालिका सीमाङ्कनले पुराना टकराबहरूलाई झनै चर्काउँदै आएका छन्। यी विवादहरू कहिलेकाहीँ जीवन मरणकै प्रश्न बन्छन्। यस्ता विवादले समाजको सौहार्द्रता खलबलिनुका साथै विकासका ढोकाहरू समेत बन्द भएका अवस्था छन् । यी विवाद समाधानका लागी कानुनी निकाय त छन् । तर कानुनी प्रणाली अस्तित्वमा भए पनि त्यसले सम्बन्ध जोड्दैन, केवल मुद्दा टुङ्ग्याउँछ। यस्तोमा एउटा अनौठो अभ्यास सुरु भएको छ । जसले विवादलाई संवादमा बदलिरहेको छ । द्वन्द्वमा फाटेका मनहरूलाई पुनः गाँसिरहेको छ। त्यो अभ्यास हो, माकुरा पद्धति।
के हो त माकुरा ? माकुरा कुनै प्राणीको नाम मात्र होइन । त्यो एउटा दृष्टिकोण हो, एउटा प्रक्रिया हो, जसले समाजभित्रै समाधानको सूत्र खोज्छ। यो त न कुनै जादुको छडी हो। न त कुनै बाहिरी शक्तिको हस्तक्षेप। माकुरा समूह भनेको त्यस्ता व्यक्तिहरूको टोली हो जसलाई विवादमा संलग्न समुदायले नै विवाद रूपान्तरणका लागी छानेर पठाएका हुन्छन् । उनीहरू न त न्यायाधीश हुन्, न त कुनै वकिल नै। न त मुद्दा लड्न उत्रिन्छन्, न त फैसला नै सुनाउँछन्। केवल निष्पक्षता, पारदर्शिता र संवादको माध्यमबाट सम्बन्ध गाँस्दै विवादको जालोलाई सुल्झाउन सहजीकरण गर्छन्।
हामी एक पटक माकुराको जालोलाई हेरौँ। कस्तो बलियो, लचकदार र सन्तुलित हुन्छ। माकुराले जालो बनाउँदा डोरीहरूलाई बलियो तरिकाले अड्काएको हुन्छ र बिच/बिचमा एक अर्का डोरीहरूलाई जोड्न बलियो घेराहरू तयार गरेको हुन्छ, जसले गर्दा ठुलो हावाहुरीमा पनि जालो तोडिँदैन। माकुराले बनाएका धागाहरूमा लचकता हुन्छ । यो तन्कन र खुम्चन सक्छ। साथै, हरेक घेराहरू आफैँमा स्वतन्त्र तर आपसमा अन्तर सम्बन्धित हुन्छन्। त्यसैको शैलीमा माकुरा समूह पनि काम गर्छ। जसरी, जालोको प्रत्येक डोरी अलग(अलग भएर पनि एक आपसमा जोडिएका हुन्छन्, त्यस्तै, माकुरा समूहका सदस्य पनि द्वन्द्वमा संलग्न अलग अलग पक्षहरूबाट छनोट भएता पनि एक पक्षीय भएर सबै पक्षहरूलाई जोड्छन्। न कुनै पक्षको वकालत गर्छन्, न त कुनै दबाब नै सृजना गर्छन्। केवल संवाद, समझदारी र रूपान्तरण।
कैलालीको एक कथाले माकुरा पद्धतिको प्रभाव विस्तारमा देखाउँछ। जगदम्बीके भगवती मावि र मुक्त कमैया समुदायबिचको जग्गा विवाद कति पेचिलो थियो भने त्यो अदालत पुगेको भए दशकौँसम्म टुङ्गो लाग्ने थिएन। तर, यही माकुरा समूहले सहजीकरण गर्यो र विवाद रूपान्तरण पनि भयो ।
यही समुदायका प्रतिनिधि दिलराज गौतम, पेशले कानुन व्यवसायी, अहिले त्यो अनुभव सम्झँदा चकित हुँदै भन्नुहुन्छ, “पहिला लाग्थ्यो, यस्तो विवाद अदालतमै जानुपर्छ, मुद्दा लड्नुपर्छ। बरु, म आफैँ हेरिदिन्थे । तर जब मलाई समुदायले माकुरा समूहमा चयन गर्यो, अनि यस प्रक्रियामा प्रत्यक्ष सहभागी हुने मौका पाए । त्यसपछि बुझेँ अदालतले त जित(हारको निर्णय गर्छ, तर मनको दूरी घटाउँदैन। यहाँ त सबै पक्षको जित हुने, र फाटेको मन पनि जोडिने रहेछ। आज समुदायमा आएको परिवर्तन हेर्दा गर्व लाग्छ। जहाँ पहिले अविश्वास थियो, त्यहाँ अब संवाद छ। जहाँ चर्काचर्की थियो, त्यहाँ अब समझदारी छ।”
वास्तवमा, माकुरा पद्धतिले अदालतको सीमित चौकट पार गर्छ। यो पद्धतिमा को दोषी ? को सही ? भन्दा पनि को, के, कसरी ? भन्ने प्रश्न उठाउँछ। माकुरा पद्धतिको सुन्दरता यसको पारदर्शितामा छ। यो निष्पक्षता र समुदायप्रतिको समर्पणले माकुरालाई सबैको विश्वासको केन्द्र बनाएको छ। झापा जिल्लाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल भन्छन्, “माकुराले पचासौँ वर्षदेखि फाटेका मनहरूलाई जोडेको छ। यो काम अदालतले गर्न सक्दैन। यदि यो पद्धतिलाई राष्ट्रिय स्तरमा लागू गर्न सकियो भने न्याय प्रणालीमै क्रान्ति आउँछ।”
माकुरा पद्धति सम्बन्ध सुधारको माध्यम हो। यसले विवादित पक्षलाई आफ्नो निर्णय आफै गर्न सशक्त बनाउँछ। यो न त अड्डा अदालतको विकल्प हो, न त कुनै दबाबमूलक सम्झौता। माकुरा पद्धति कुनै जादु होइन, तर यसले जादुमय जस्तो असर ल्याएको छ। समुदायको विश्वास जित्ने, समुदायकै आवाज सुनाउने, र समुदायकै सहमतिबाट समाधान निकाल्ने यस्तो अभ्यासले स्थानीय सरकारलाई समेत विस्मित बनाएको छ। उनले खुलेर माकुरा समूहमाथि भरोसा राख्न थालेका छन्।
सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामालाई माकुरा पद्धतिको सबैभन्दा मन पर्ने पक्ष भनेको यसले सबैलाई समेट्नु हो। “हामी पहिला छिटोछरितो समाधान खोज्न हतारिन्थ्यौँ, तर माकुराले सिकायो की बारम्बार संवाद र छलफलले मात्र दिगो समाधान सम्भव छ,” उनी भन्छिन्।
माकुरा समूहले आयोजना गर्ने बैठकहरू व्यवस्थित र समावेशी हुन्छन्। यहाँ कोही पनि पछाडि पर्दैन, सबैको आवाज सुनिन्छ। सर्लाहीकी अम्बिका अधिकारीले माकुराको कामलाई दही मथ्ने प्रक्रियासँग तुलना गर्छिन्। उनी भन्छिन् “जसरी दहीलाई मथेर घिउ निकालिन्छ, त्यसै गरी माकुराले सबै पक्षका कुरा सुनेर साझा समाधान निकाल्छन्। माकुरा समूहले अपनाउने विधि केवल छलफलकोमात्र हैन, यो त संवेदनशीलता र समावेशिताको प्रतीक हो। हामीले छलफल गर्दा खाट विधि प्रयोग गर्छौ जसले सबैलाई बोल्न दिने र सबैको कुरा सुन्ने सुनिश्चितता गर्छ।”
माकुरा पद्धति किन यति विशेष छ? यसको जवाफ माकुराको जालोमा लुकेको छ। माकुराले आफ्नो जालो बनाउँदा हरेक धागोलाई बलियोसँग जोड्छ, जसले ठुलो हावाहुरीमा पनि जालोलाई अड्याइराख्छ। ठिक यस्तै, माकुरा समूहले विवादमा संलग्न पक्षहरूलाई जोडेर सामाजिक सम्बन्धलाई बलियो बनाउँछ। यो समूहमा छनोट हुने व्यक्तिहरू निष्पक्ष, पारदर्शी, विश्वासिलो र संवादमा दक्ष हुन्छन्। उनीहरूले सबैको कुरा सुनेर साझा समाधानको बाटो पहिल्याउँछन्।
यो अभ्यास कुनै संयोग होइन। प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपाल (NRCTC-N) ले आफ्नो स्थापनाकाल देखि नै यस अभ्यासलाई संस्थागत गर्दै आएको छ। संस्थाले अवलम्बन गरेको यो पद्धति केवल समाधानको होड होइन, सम्बन्धको पुनर्निर्माण र सांस्कृतिक परिवर्तन हो। अदालतबाट होइन, गाउँघरबाट भीडबाट होइन, संवादबाट विवाद रूपान्तरण गरौँ भन्ने अभियान हो।मेलमिलाप ऐनअनुसार मेलमिलाप गतिविधि सञ्चालन गर्न मान्यता प्राप्त यो संस्था नेपाल सरकारसँगको सहकार्यमा गाउँ–गाउँमा शान्तिको बिउ रोपिरहेको छ।यस संस्थाले दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ स्थानीय स्तरमै न्यायको पहुँच, समुदायमा नेतृत्व विकास र शान्तिपूर्ण सुसंस्कृत समाजको निर्माणमा जुटेको छ।
यो अभ्यासले समुदायभित्रका मानिसहरूलाई नेतृत्वमा ल्याई उनीहरूकै सहभागिताबाट शान्ति निर्माणमा इँटा थपेको छ । गत १२ वर्षमा देशका पश्चिम कञ्चनपुर देखी पूर्व इलाम लगायतका विभिन्न जिल्लामा माकुरा समूहहरूले प्राकृतिक स्रोतसँग सम्बन्धित थुप्रै बहुसरोकारवालाका विवादहरू रूपान्तरण गर्न सफल भएका छन्। यो प्रक्रियाले विवाद समाधानको नयाँ मानक बनाउँदै छ जहाँ सबै पक्षको भलो सोचिन्छ, जहाँ विकास र न्याय सँगसँगै हिँड्न सक्छन्।
न्याय भनेको केवल मुद्दा जित्नु मात्र होइन सम्बन्ध बचाउनु, मन बुझ्नु, र भविष्यमा फेरि विवाद नहोस् भन्ने सुनिश्चितता हो। माकुरा पद्धतिले यिनै सबै पक्ष समेट्छ। यो केवल विवाद समाधानको माध्यम मात्रै होइन, समाजमा संवादको संस्कार बसाउने अभियान हो। सामुदायिक नेतृत्व विकास र विश्वास अभिवृद्धिको आधार पनि हो। जब समुदायले आफ्ना समस्या आफैँ समाधान गर्न थाल्छ, त्यहाँ आत्मीयता, अपनत्व र उत्तरदायित्व जन्मिन्छ। सत्य के हो भने विवादरहित समाज सम्भव छैन। तर, माकुराले देखाएको छ की सही प्रक्रिया अपनायो भने हरेक विवाद नयाँ सुरुवातको अवसर बन्न सक्छ।
त्यसैले, आज माकुरा एउटा पद्धतिमा मात्र होइन, यो त समाजले बुन्दै गरेको न्यायको एउटा बलियो र सजीव जालो हो। यस पद्धतिले देखाएको छ कि न्याय अदालतको चार किल्लाभित्र मात्र सीमित हुँदैन, यसलाई समुदायको आन्तरिक शक्ति र सहकार्यबाट पनि हासिल गर्न सकिन्छ। यो एउटा यस्तो अभ्यास हो, जसले सामाजिक सद्भावको जालो बुन्दै शान्त र समृद्ध समाज निर्माणको आधारशिला तयार गरिरहेको छ।
(लेखक प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालमा वरिष्ठ कार्यक्रम अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ ।-सम्पादक)