वकालत एउटा पेसा हो र पेसाकर्मीलाई वकिल भनिन्छ । चलनचल्तीको भाषामा कानुन व्यवसायी पनि हो । हरेक पेसाका फरक प्रकृति र विशेषता हुन्छन् । सबै पेसाको आफ्नो दायरा, भूमिका हुन्छ । सबल र दुर्बल पक्ष पनि हुन्छन् । आकर्षण र विकर्षण हुन्छन् । जे होस वकालत एउटा सम्मानित र जिम्मेवार पेसा मानिन्छ । व्यक्तिगत स्वतन्त्रता प्रयोग गरी क्षमता विकास गर्नेहरूको लागि यो क्षेत्र रोजाइमा पर्छ । यो क्षेत्र बृहत् र विस्तृत पनि छ ।
विश्वको परिवेशमा वकालत पेसा एकदम सम्मानित मानिन्छ । कानुनको व्यवसाय गर्ने कारण पनि यो पेसा बढी संवेदनशील पनि मानिन्छ । यो पेसाको सामाजिक जिम्मेवारी पनि ठुलो छ । वास्तवमा वकालत पेसा भनेको कुनै व्यक्तिको पक्षमा वकालत गर्ने मात्र नभएर देश र समाजको विकासमा पनि हात रहन्छ । कानुनको अध्ययन र खोज गरेर समाजलाई थप विकसित र उन्नत बनाउने जिम्मेवारी पनि रहेको छ । हेर्दा व्यक्तिगत काम गरेको देखे पनि वकिलको बहस र पैरवीले समाज विकासमा गहन भूमिका खेल्छ ।
नेपाली समाजमा वकिल अपमानित र बदनामी नाम हो । वकिलका पर्यायवाची नामहरू धेरै छन् । कालो कोटे, झुट, फरेबवाला, दलाल, बिचौलिया, छट्टु, ठग जस्ता अनेकन् नकारात्मक विशेषण छन् । मान्छेहरूको दृष्टिकोणका कारण समाजमा वकिलहरूले अपमानित पनि हुनुपरेको अवस्था छ । मान्छेहरूले खिसीटिउरी गर्छन् । जसरी वकिललाई विभिन्न नामले चिनिन्छ, त्यही अनुसार समाजले व्यवहार गर्छ । यसरी समाजमा बदनाम भए पनि यो पेसाप्रतिको आकर्षण र लगाव भनेको घटेको देखिँदैन बरु यो पेसाप्रति मानिसहरू झन् आकर्षित भएको पाइन्छ ।
समाजको दृष्टिकोण मात्र होइन अर्को जटिलता भनेको वकालत पेसा हो भन्ने विचार पनि समाजमा स्थापित हुन सकेको छैन । काम र व्यक्तिबिचको सम्बन्ध पनि समाजले टुङयाउन सकेको पाइँदैन । जसको कारण वकिलहरूलाई सामाजिक सुरक्षामा पनि चुनौती रहेको छ । वकालत त एउटा पेसा मात्र हो र वकिलले पेसागत धर्म अनुसार मुद्दाको कुनै पनि पक्षको तर्फबाट बहस गर्नुपर्ने हुन्छ । यो कुरा व्यक्ति हेरेर भन्दा पनि पेसागत रूपमा कुनै पनि पक्षको नेतृत्व गरेर बहस र पैरवी गर्नुपर्ने हुन्छ ।
वास्तवमा समाजले वकालत पेसालाई नबुझेको जस्तो लाग्छ । फलस्वरूप मान्छेहरू सहजै भन्छन् वकिलले कालोलाई सेतो भन्छ । यो पेसा भनेको मान्छेलाई ठग्ने, ढाँटेन देखि छलछाम गर्ने काम गर्छन् भन्ने आरोप लगाउँछ । मानिसहरू भएको पूर्वाग्रही सोचका कारण पनि यो पेसा सम्मानित नभएको जस्तो लाग्छ । यो समाजको हल्लै हल्ला बिच एक गलत मानक स्थापना भएको छ । यो विषयमा नितान्त व्यक्ति गलत हुन सक्छन् तर वकालत व्यवसाय चाहिँ खराब होइन । पेसा गर्नेहरू राम्रा पनि हुन्छन् र नराम्रा पनि । यही व्यक्ति र पेसा व्यवसायबिच फरक थाह नपाउँदा यो पेसा बदनाम भएको हो ।
कुनै पनि पेसा र व्यवसायको आफ्नो मान मर्यादा हुन्छ । काम गर्ने दायरा हुन्छ । वकालत पेसा कानुनसँग सम्बन्धित छ । यसले कानुनको व्याख्या गरेर निष्पक्ष न्याय प्रणालीको वकालत गर्छ । कुनै पनि अपराध होस वा मुद्दा यसले पक्ष र विपक्ष भएर अदालतमा बहस पैरवी गर्छ । यसको मतलब बहस पैरवीले पक्षको मात्र पृष्ठपोषण नगरेर न्यायको गहिराइमा पुग्न मद्दत गर्छ । न्यायमूर्तिलाई फैसलामा पुग्न र सही कुरा टुङ्गो लगाउन सहयोग गर्छ । कुनै पनि विषयमा बहस र पैरवी भइरहँदा मुद्दाका विषयहरू सूक्ष्म तरिकाले विश्लेषण हुन्छन् । न्याय प्रणालीको दृष्टिकोण पनि दोषीले सजाय पाओस् तर निर्दोषले न्याय पाओस् भन्ने नै हो भने यो कुरा खुटाउनको लागि पर्याप्त बहस हुनु जरुरी छ । यसका लागि वकिलहरूले मेहनत गरेको हुन्छ । कानुनका सिद्धान्त र विश्वभरिका अभ्यासहरू अध्ययन, अनुसन्धान गर्नुपर्छ । होला आफ्नो पक्षको प्रतिरक्षा गर्नु धर्म पर्छ । सहानुभुतिपनि पक्कै हुन्छ । नुनको सोझो त भइहाल्छ तर विपक्षको बहसले पनि पक्षलाई परोक्ष रूपमा कानुनको व्याख्यामा सहयोग गरेको हुन्छ । अन्ततः दुवै पक्षको बहस निष्पक्ष न्याय निरूपणको लागि सहायक सिद्ध हुन्छन् ।
वकालत पेसाकर्मीले मुद्दामा एक पक्षको प्रतिनिधित्व गर्छ । पक्षका विषयहरू बहसमा उठाउँछ । कतिपय कुराहरू कानूनीमात्र होइन, भावनात्मक हुन्छन् । तथ्यगत हुन्छन् अनि विषयगत पनि हुन्छन् । पक्षका समग्र कुराहरू अनुभूति गरेर मात्र वकालतमा वकिलले पक्षको सही नेतृत्व गर्न सक्छ । यो कुरा आफैमा चुनौतीपूर्ण पनि छ । अरूको भोगाइ र अनुभूतिलाई आफ्नो सो सरह व्यक्त गर्नु अनि न्यायको लागि न्यायमूर्तिको अगाडि प्रस्तुत गर्नु सामान्य विषय होइन । पक्षको सही र न्यायपूर्ण प्रतिनिधित्व गर्नु पेसागत व्यावसायिकता हो र यो गर्नुपर्छ । तर विडम्बना के छ भने विपक्षले वकिललाई शत्रुतापूर्ण व्यवहार गर्छन् । वकिलको भूमिका पक्ष वा विपक्ष हुँदैन । वकिल पेसाको मर्म अनुसार जुन पक्षको पनि प्रतिनिधित्व गर्न सक्छ तर सेवाग्राहीको दृष्टिकोणबाट यो कुरा नबुझेको पाइन्छ ।
वकालत पेसा हो र वकिल एउटा व्यक्ति हो भन्ने कुरा समाजले बुझेको पाइँदैन । यही कुरा नबुझ्दा वकिलहरूमाथि हमला हुने गर्छन् । धम्की र दबाब पनि आइरहन्छन् । बेलाबेला वकिलहरू बहसपछि भागेको र अदालतको कुरा घरसम्म पनि पुगेका उदाहरण छन् । कुनै पक्षले मुद्दा हा¥यो भने फलाना वकिलले हरायो भन्ने आक्षेप पनि लाग्छ जसको कारण सामाजिक सम्बन्ध पनि बिग्रिने गरेका पाइन्छ । कतिपय अवस्थामा वकिलको व्यक्तिगत सुरक्षा पनि चुनौतीपूर्ण बन्छ । यस्ता कुराहरू समाजमा आउनुको पछाडि यो पेसा व्यवसायको आत्मा नबुझ्नु हो । वास्तवमा वकिलले बहस गर्दा कसैको निजी जीवनप्रति चासो हुँदैन र पक्षको आधारमा मात्र बहस गर्ने हो तर समाजले यो कुरालाई निजी रिसिविको रूपमा हेर्छ । यसको मतलब वकिल व्यक्तिगतरुपमा कसैको पनि शत्रु हुँदैन तर उसले प्रतिनिधि गरेको पक्ष भएर बोल्छ । त्यो उसको पेसागत धर्म र व्यावसायिकता हो । उसको व्यक्तिगत स्वार्थ केही पनि हुँदैन तर उसले फी लिइसकेपछि जुनसुकै पक्षको काम इमानदारीसाथ गर्नुपर्छ । पक्षका कुराहरू अदालतसमक्ष पु¥याउनुपर्छ । तर समाजले यो कुरालाई बुझ्न सकेको पाइँदैन ।
जसरी वकिल पेसालाई समाजले नीच ठानेको छ तर यसलाई गहन रूपमा बुझ्ने हो भने यो महान् पेसा हो । समाजका न्याय स्थापित गर्नको लागि सधैँ अनवरत प्रयास गर्ने यो पेसा कसरी ठग हुन सक्छ । एउटा मुद्दा र बहसको लागि संसार अध्ययन गर्नुपर्छ । विश्वभरका कानुनका सिद्धान्त, अभ्यास र नजिरहरू अध्ययन र खोजका आधारमा न्यायको लागि पहल गर्नुपर्छ । एक छिनका लागि पक्षको लागि होला तर वकिलहरूले गरेका खोज अनुसन्धानले समग्र न्याय प्रणालीको विकास गरेको हुन्छ । एकदम संवेदनशील, विवेकपूर्ण र तार्किक भएर विषयवस्तु प्रस्तुत गर्नुपर्ने हुन्छ । वकिलको बहसको आधारमा नै फैसलाहरू निष्पक्ष हुन सक्छन् । समाजले बुझेको कुराभन्दा विल्कुल फरक हुन्छ, कानुन व्यवसाय । यति सजिलै समाजले आरोप लगाउनु अन्याय हो । एक व्यक्तिको फटाइ हुनसक्छ तर यो व्यवसाय आफैमा उच्च सम्मानित पेसा हो ।
मुख्य कुरा वकालतले व्यक्तिको नियत प्रतिनिधित्व हुँदैन । वकिल सबैको साथी हो । जसरी अदालतभित्र विपक्षको तर्फबाट बोलेको भरमा उसलाई व्यवहार गर्नुहुँदैन । यो त पेसाको धर्म हो । भोली त्यही विपक्षीलाई अर्को मुद्दामा प्रतिनिधित्व गर्न सक्छ । वकिल कसैको हुँदैन तर जसको पनि हुन सक्छ । यही अदालतमा आफ्नो मुद्दाको विपक्षमा बोल्यो भनेर बाहिर त्यसरी व्यवहार गर्नु साँघुरो मानसिकता हो । पेसालाई नजरअन्दाज गर्नु हो । यही विपक्षतर्फबाट बोलेको आधारमा दुर्व्यवहार गर्नु नीच व्यवहार हो । कम्तीमा पनि यति कुरा बुझ्न सक्नुपर्छ कि वकिलले अदालतमा बहस गरेका कुराहरू व्यवसाहिकतामात्र हो, यसको पछाडि व्यक्तिगत कुनै पनि पूर्वाग्रह र स्वार्थ हुँदैन ।
मुद्दामा वकिलको पक्षप्रति सहानुभूति हुन्छ तर सधैँ उसको सहानुभूतिले काम गर्दैन । पक्षले पनि दोष लगाउनु ठिक होइन । वकिलको बहस वास्तवमा निष्पक्ष हो । कानुन, तथ्य र विवेकको प्रयोग हुन्छ तर उसले आफ्नो पक्ष सम्भावना खोज्ने हो । आफ्नो पक्ष सधैँ जित हुन्छ भन्ने पनि हुँदैन तर कानुनी सम्भावना भने खोजिन्छ । फलाना वकिलको कारण मुद्दा हारियो भनेर उसलाई दोषारोपण गर्नु अनि बदला लिने सोच राख्नु कमजोरी हो । अदालतको ध्येय न्यायतिर हुन्छ, व्यक्तितिर हुँदैन । अदालतप्रति जनआस्था पनि ठुलो हुन्छ ।
यसरी वकिलहरूले आफ्नो व्यावसायिकता गरिरहँदा अदालतमा पुगेको पक्ष र विपक्षहरूको जुन बुझाई छ यो एकदम गलत छ । वकिल एउटा पेसा हो । वकिल स्वतन्त्र छ । वकिलहरूको पक्ष विपक्ष हुँदैन, मुद्दाको मात्र पक्ष विपक्ष हुन्छ । जो मुद्दाका पक्ष र विपक्षहरू हुन्छन् विपक्षमा बोल्ने वकिलहरू शत्रु हुन र उनीहरू विरोध मात्र गर्छन् भन्ने मानसिकता सेवाग्राहीको हुन्छ । यही सोचका कारण वकिलहरू भौतिक हमलाको सिकार पनि हुने गरेको पाइन्छ । कतिपय अवस्थामा दुर्व्यवहार गरिन्छ, धम्काउने तर्साउने देखि अनुचित प्रभावमा पार्ने सम्मको अभ्यास समाजमा छ । पेसागत विकास र व्यावसायिक क्षमता वृद्धिमा यस्ता कुराहरू अवरोध हुन जसले दीर्घकालीन असर गर्छ ।
अदालतमा सुनुवाइको बखत दुवै पक्ष हाजिर हुन्छन् । आफ्नो मुद्दा सुन्न पाउने अधिकार प्राकृतिक न्यायको सिद्धान्तमा आधारित छ । सैद्धान्तिक हिसाबमा यो कुरामाथि कुनै टिप्पणी गर्नुपर्ने जरुरी छैन तर व्यवहारिक हिसाबमा हेर्ने हो भने अदालतको इजलासमा पक्ष र विपक्षले वकिलमाथि हिंसाको भाषा प्रयोग गरेको पाइन्छ । जुन कुरा पेसागत सुरक्षाको आधारमा गम्भीर हो भने अर्को कुरा पेसागत मानमर्दन पनि हो । जुन मर्यादा र अनुशासन अदालतको प्राङ्गणमा हुन्छ भन्ने विश्वास गरिन्छ, ती कुराहरू नहुनु गम्भीर विषय हो । कानुन व्यवसायी यस्तो पेसा हो जसको रिटार्यडमेन्ट नै हुँदैन र जीवन नै अदालतमै बित्छ । अदालत उनीहरूको लागि विश्वविद्यालय र घर पनि हो ।
यति भइरहँदा समाज मात्र दोषी छ भन्ने पनि होइन । वकिलले पनि पेसागत मर्यादा कायम राख्नुपर्छ । पक्ष वा विपक्ष जताबाट प्रतिनिधित्व गरे पनि व्यावसायिकता देखाउन सक्नुपर्छ । कसैलाई उक्साएर वा हतोत्साह गरेर व्यक्तिगत स्वार्थ नलागी बहस र पैरवी गर्नुपर्छ । जति पनि बहस र पैरवीहरू गरिन्छन् ती कुराहरूले समाज र न्याय प्रणालीको हितमा हुनुपर्छ र नजिर र सिद्धान्त बन्नुपर्छ । समग्रमा लोकतन्त्र, राज्य प्रणाली र आदर्श समाज विकासको लागि कोशे ढुङ्गा साबित हुनुपर्छ । समाजले पनि वकिल पेसालाई सम्मान हैसियत दिन सक्नुपर्छ ।