रसुवा । भीषण वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका मितेरी पुल बगाएपछि रसुवागढी नाका पूर्णरूपमा बन्द भएको छ। सोमबार राति आएको बाढीले पुलसँगै भन्सार यार्ड (ड्राइपोट) मा पार्क गरिएका सयौँ गाडीहरू पनि बगाएको छ।
भन्सार कार्यालयका कर्मचारी यादवराज पहाडीका अनुसार, ड्राइपोटमा राखिएका धेरैजसो गाडी बगाएको छ।’ उनले मानवीय क्षतिबारे यकिन विवरण आउन बाँकी रहेको समेत जनाए।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले घटनाबाट ठूलो भौतिक क्षति भएको पुष्टि गर्दै अहिले सुरक्षाकर्मी र प्रशासनिक टोली घटनास्थलमा खटिएको जानकारी दिए। ‘ड्राइपोट क्षेत्रमा काम गर्ने केही मजदुर र चालक पनि बाढीमा परेका हुनसक्छन् भन्ने आशंका छ, तर हालसम्म त्यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ,’ उनले भने।
पुल बगाएसँगै रसुवा हुँदै सञ्चालन हुँदै आएको नेपाल–चीन व्यापार अवरुद्ध भएको छ। केरुङ नाकामार्फत दैनिक सयौँ टन सामान ओसारपसार हुने गर्दथ्यो। अहिले उक्त मार्ग ठप्प हुँदा वैकल्पिक उपायबारे अध्ययन सुरु गरिएको रसुवा प्रशासनले जनाएको छ।
स्थानीय प्रशासनले सम्भावित जोखिम क्षेत्र खाली गर्न आग्रह गरेको छ भने उद्धार र राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।