काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने दुईजना न्यायाधीशमाथि महाअभियोगको प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्।
संसदको सोमबारको बैठकमा बोल्दै सांसद साहले उच्च अदालतका न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनले आलमजस्तो जघन्य अपराधमा दोषी ठहर भइसकेको व्यक्तिलाई सफाइ दिएको भन्दै न्यायपालिका स्वतन्त्र छ भन्ने विश्वासमाथि नै प्रश्न उठाएको बताए।
“जनमानसमा यो फैसला राजनीतिक संरक्षणको नतिजा भन्ने बुझाइ बनिरहेको छ। यदि सरकार स्वतन्त्र न्याय प्रणालीमा विश्वास गर्छ भने ती न्यायाधीशविरुद्ध महाअभियोगको प्रक्रिया अघि बढाउनु पर्छ,” सांसद साहको चेतावनी थियो।
उनी भन्छन्, “यदि यस्तो कदम चालिएन भने, सरकार आफैले अफताब आलमलाई उपहारस्वरुप सफाइ दिएको भन्ने सन्देश जान्छ।”
साहले इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरिएको जघन्य घटनामा दोषी ठहर भइसकेका आलमको सजाय उल्ट्याउने फैसलालाई लोकतान्त्रिक मूल्य र न्याय प्रणालीमाथिको अपमान भने।
सांसद साहले राजनीतिक भागबन्डाका आधारमा हुने न्यायाधीश नियुक्ति तत्काल रोकिनुपर्ने मागसमेत गरे।