काठमाडौँ । सर्वोच्च अदालतले लामो समयदेखि थन्किएर बसेका आठ वर्ष पुराना सबै मुद्दा फर्छ्यौट गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। अदालतका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को प्रारम्भमा रहेका ३०९ वटा मुद्दा मध्ये सबैको टुंगो लागिसकेको छ।
अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार तीमध्ये दुई वटा मुद्दामा फैसला सुनाउने कार्य बाँकी भए पनि, असार २४ गते निर्णय सुनाउने मिति तोकिएको छ। उनका अनुसार सुनुवाइ सकिएको अवस्थामा रहेका ती दुई मुद्दाबाहेक सबै पुराना मुद्दा फर्छ्यौट भइसकेका छन्।
सर्वोच्चमा हाल सात वर्ष पुराना १८२ र छ वर्ष पुराना ४३४ मुद्दा बाँकी रहेका छन्। अब अदालतको प्राथमिकता सात वर्ष पुराना मुद्दा शून्यमा झार्ने रहेको प्रवक्ता कुइँकेलले बताए। उनका अनुसार आगामी वर्षभित्र ती मुद्दाहरू पनि पूर्णरूपमा फर्छ्यौट गर्ने लक्ष्य लिइएको छ।
२०७९ सालको असारमा बसेको न्यायाधीशहरूको पूर्ण बैठकले २०८३ सम्म पाँच वर्षभन्दा पुराना मुद्दाहरूलाई फर्छ्यौट गर्ने कार्ययोजना पारित गरेको थियो। त्यसैअनुसार, २०८१ साउन १ गतेदेखि लागू भएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाले सर्वोच्च अदालतमा पाँच वर्षभन्दा पुराना मुद्दा शून्यमा ल्याउने, उच्च र जिल्ला अदालतहरूमा दुई वर्ष नाघेका मुद्दा फर्छ्यौट गर्ने र जुनसुकै नयाँ मुद्दा १८ महिनाभित्र टुंगो लगाउने लक्ष्य लिएको छ।
न्यायपालिकामाथिको सार्वजनिक आलोचना र ढिलासुस्तीको गुनासोबीच सर्वोच्च अदालतको यो पहलले दीर्घकालीन सुधारतर्फको प्रतिबद्धता देखाएको छ। अबको चुनौती भनेको यो गति र नतिजालाई अन्य तहका अदालतसम्म विस्तार गर्नु हो, ताकि न्याय ढिलो नभई समयमै होस् भन्ने अपेक्षा पुरा होस्।