काठमाडौं । पत्रकार दिलभुषण पाठक बुधबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनीविरुद्ध साइबर अपराध अन्तर्गत विद्युतीय कारोबार ऐनको दफा ४७ बमोजिम मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार पाठकविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने मागसहित मुद्दा दायर गरेको हो। पाठकविरुद्ध गत जेठ २८ गते साइबर ब्युरोले पक्राउ पुर्जी लिएको भए पनि उच्च अदालत पाटनले असार ५ गते उनलाई नपक्राउ गर्न अन्तरिम आदेश दिएको थियो।
पाठकमाथि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिल्टन होटल खरिद गर्न लागेको विषयमा आधारहीन भिडियो सामग्री सार्वजनिक गरेको आरोप छ। यो भिडियो सामग्री युट्युबमार्फत् सार्वजनिक गरिएको थियो। उक्त भिडियोप्रति आपत्ति जनाउँदै जयवीर देउवाका तर्फबाट उजुरी दर्ता गरिएपछि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको हो।
अदालतको अन्तरिम आदेशका कारण पक्राउ नगरीकनै उनीमाथि मुद्दा चलाइएको हो। पाठक आज बिहान ९ बजे जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए। आजै थुनछेक सम्बन्धी बहस हुने कार्यक्रम छ।