दीपक मनाङे सांसद पदबाट पदमुक्त, मनाङ ‘ख’ मा उपचुनावको बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (उर्फ दीपक मनाङे) पदमुक्त भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनी उम्मेदवार बन्नै अयोग्य रहेको ठहर गर्दै प्रदेशसभा सदस्य पदबाट हटाउने आदेश दिएको हो।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका मनाङेले झुटो विवरण पेश गरी उम्मेदवारी दर्ता गराएको भन्दै दायर रिटमा आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासले उनी पदमुक्त भएको निर्णय सुनाएको हो।

निर्णयसँगै गण्डकी प्रदेशको मनाङ ‘ख’ निर्वाचन क्षेत्र रिक्त भएको छ। अदालतको आदेश अनुसार आजको मितिबाट लागू हुने गरी उनी सांसद पदबाट पदमुक्त भएका हुन्। अब उक्त क्षेत्रमा उपनिर्वाचनको बाटो खुलेको छ।

मनाङे हाल थुनामा छन्। उनी सर्वोच्च अदालतबाट २०८१ कात्तिक २० गते २०६१ सालमा चक्रे मिलनमाथि खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा पाँच वर्ष कैद सजाय पाएका थिए। त्यसपछि २०८१ मंसिर २ गते काठमाडौंको सानोभर्याङबाट पक्राउ परी डिल्लीबजार कारागार चलान गरिएका थिए।

अदालतको यो निर्णयसँगै उनी अब पुनः कुनै पनि सार्वजनिक पदका लागि उम्मेदवार बन्न नपाउने भएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज