धवल शमशेर सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित

काठमाडौँ । राजावादी आन्दोलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबरा लामो समयपछि अदालतमा हाजिर भएका छन्। उनी सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन्। उनी अदालतमा हाजिर भए पछि न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ ।

२०८१ सालको चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजसंस्था पुनःस्थापनाको मागसहितको प्रदर्शनमा सहभागी भएपछि जबरा राज्यविरुद्धको अपराधमा मुछिएका थिए। राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुर गरी चारवटा अभियोगमा सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गरेको हो।

अदालतमा उपस्थित हुनुअघि जबरा केही समय प्रहरी सम्पर्क बाहिर रहेका थिए। अनुसन्धानका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर हाजिरी जमानीमा रिहा गरेको थियो। उपचारका लागि रिहा भएका उनी मुद्दा दर्ता भएपछि भने अदालतमा अनुपस्थित रहँदै आएका थिए।

प्रहरीको आरोपपत्रअनुसार, सो दिनको आन्दोलनमा संलग्न ६५ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको थियो। तीमध्ये जबरा एक प्रभावशाली राप्रपा नेताको रूपमा प्रमुख अभियुक्तमध्ये एक हुन्।

अदालतले अब जबरासहित अन्य प्रतिवादीहरू विरुद्ध मुद्दाको सुनुवाइ अघि बढाउने तयारी थालेको छ। जबराको उपस्थितिले मुद्दा पुनः गति लिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज