आज बजेट सार्वजनिक गर्दै सातवटै प्रदेश, बागमती सरकारको सबैभन्दा ठूलो आकार प्रस्ताव

काठमाडौं — सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दैछन्। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका आर्थिक मामिला मन्त्रीहरूले प्रदेश सभामा आम्दानी र खर्चको विवरणसहितको बजेट प्रस्तुत गर्ने कार्यतालिका छ।

संविधानअनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार आज प्रदेश सरकारले आगामी वर्षका लागि बजेट पेस गर्न लागेका हुन्।

सुदूरपश्चिम प्रदेशले अघिल्लो वर्षको २९ अर्ब २६ करोड ५९ लाख हाराहारीमै बजेट राख्ने तयारी गरेको छ। आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ।

लुम्बिनी प्रदेशले यस वर्ष ३२ अर्बको बजेट ल्याउने तयारी गरेको छ। अघिल्लो वर्ष उक्त प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट ल्याएको थियो। आज दिउँसो ३ बजे लुम्बिनी प्रदेश सभाको बैठक बोलाइएको छ।

बागमती प्रदेशले पनि बजेट आज दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। अघिल्लो वर्ष ६२ अर्ब ७० करोडको बजेट ल्याएको बागमतीले यसपटक करिब ६८ अर्बको बजेट पेस गर्न लागेको छ।

मधेश प्रदेशले अघिल्लो वर्ष ४४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो। कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड ३५ लाख र गण्डकी प्रदेशको बजेट ३३ अर्ब ४२ करोड ७२ लाख थियो।

यस वर्ष प्रदेशहरूको बजेट आकार केही घट्ने वा स्थिर रहने अनुमान गरिएको छ। बजेटमार्फत विकास योजना, प्राथमिकता र खर्च विनियोजनबारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज