सहयोगी अधिवक्तालाई व्यावसायिक सहयोगीका रूपमा कसरी संलग्न गराउने ? 

कानून व्यवसायी पेसागत आचरण सम्बन्धी नियमावलीले वरिष्ठ अधिवक्ताले कुनै मुद्दामा इजलासमा बहस गर्दा कम्तीमा एक जना अधिवक्तालाई व्यावसायिक सहयोगीका रूपमा कसरी संलग्न गराउने भन्ने व्यवस्थालाई बार काउन्सिल लगायत सर्वोच्च अदालतले परिपत्र जारी गरेको देखियो जुन सराहनीय  छ । यो व्यवस्थाको प्रयोगले खास गरी वरिष्ठ अधिवक्ताको प्रतिष्ठा र व्यावसायिकतालाई बल दिन्छ र सहयोगी अधिवक्ता लैजाँदा अधिवक्तालाई  पनि सिक्ने मौका मिल्छ भन्ने हो । तर यो प्रयोगको व्यवहारिक तयारी, यसको प्रयोगका फाइदा र अप्ठेराहरू अनि वरिष्ठ अधिवक्ता र सहयोगी अधिवक्तालाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउँदा दुवै वरिष्ठ र सहयोगी अधिवक्ताको कर्तव्य र अधिकारको बारेमा त्यति धेरै छलफल र पूर्व तयारी भएको जस्तो लागेन । न कुनै निर्देशिका बनाएको देखियो । बाध्यात्मक हुने व्यवस्था गर्दा केही पूर्व तयारी हुनु पर्ने थियो । जसले वरिष्ठ अधिवक्ता र सहयोगी अधिवक्ताको भूमिकालाई स्पष्ट र प्रभावकारी गराउन सकिन्छ । जे होस् यो कार्यान्वयनमा आएको छ । तर कसरी यो प्रभावकारी हुन् सक्छ भन्ने विषयमा मेरो केही अवधारणा आजको शनिवारको चियासँगै लेख्न मन लाग्यो  ।
मेरो छोटो अनुभव
मैले यो लेखि रहँदा मेरो छोटो विदेशी अनुभव र बुझाइ राख्दछु । सबैभन्दा पहिले बेलायतको कानून व्यवसायीकाको बारेमा । बेलायतमा ब्यारिस्टर र सोलिसिटर दुवै कानून व्यवसायी हुन तर उनीहरूको व्यवसाय मा भूमिका फरक छ । सोलिसिटरले खास गरी मुद्दामा प्रारम्भिक काम गर्ने गर्दछन् । उनीहरूको भूमिका भित्र पक्षसँग भेटघाट गर्ने, मुद्दामा अध्ययन अनुसन्धान गर्ने, ब्रिफिङ तयार गर्ने, मध्यस्थकर्ता को भूमिका खेल्ने, बहसको नोट तयार गर्ने, पक्षलाई सल्लाह सुझाव दिने, सामान्य मुद्दाहरूमा प्रारम्भिक सुनुवाइमा सरिक हुने जस्ता कामहरू गर्दछन् । तसर्थ सोलिसिटर पक्षसँग मुख्य सम्पर्क बिन्दुमा रहेका हुन्छन् । ब्यारिस्टरको हकमा सोलिसिटरको सहयोगमा सम्बन्धित मुद्दामा बहस पैरवी गर्ने, विशेषज्ञको हिसाबले राय सुझाव दिने, कानूनको व्याख्या गर्ने, च्याम्बर प्राक्टिस गर्ने जस्ता कार्यहरू गर्दछन् । ब्यरिस्टरहरु पक्षसँग सिधा सम्पर्क गर्दैन मार्फत सोलिसिटर हुन्छन् । सोलिसिटर मार्फत पक्षका कुराहरू, कागजात प्रमाण ब्यारिस्टरकोमा पुग्छ । यस अर्थमा ब्यारिस्टरको सहयोगी कानून व्यवसायी सोलिसिटर हुने गर्छन् । तर कानून व्यवसायीले आफ्नो व्यवसाय सुरु गर्नु अघि नै सोलिसिटर हुने कि ब्यारिस्टर हुने आफैले तय गर्छन् । बेलायतले गरेको अभ्यासलाई भारत तथा अन्य देशले अलि फरक हिसाबले कानून व्यवसायको विकास गरेको पाइन्छ । हामी व्यवसायको भारतीय मोडेल प्रयोग गर्छौ । हाम्रोमा अधिवक्ता र वरिष्ठ अधिवक्ताको प्रचलन छ । अधिवक्ताले व्यवसायीको निरन्तरताको निश्चित वर्ष, अनुभव, कानून र न्यायको क्षेत्रमा योगदान गरेपछि वरिष्ठ अधिवक्ताको लागि दरिने हो । तर हाम्रो व्यवहारमा फरक छ । हाम्रोमा बसेको गलत अभ्यास भनेको लाइसेन्सको उमेर हेरेर दिने गरियो । अझ पछिल्लो समय त मुद्दाको सङ्ख्या हेरिन थालियो जुन न व्यवहारिक छ, न वैज्ञानिक । वकालतनामा को सङ्ख्या मागेर दिइने वरिष्ठको उपाधिले कति वरिष्ठलाई समेत उत्साहित बनाएको छैन् । कानूनको क्षेत्रमा मुद्दा बाहेक अरू हिसाबले कानून, न्याय , कानूनी अनुसन्धान, लेख र अन्य योगदानको मुल्याकन गरेको देखिएन। जुन सुधार हुनु पर्ने देखिन्छ ।
अब हाम्रो सन्दर्भमा हेर्दा, हामीले वरिष्ठ अधिवक्ता र अधिवक्ताको व्यवहारिक प्रयोग हेर्ने हो भने बेलायतको प्रयोगसँग मिल्दो जुल्दो छ र हाल भारतमा पनि सोही हिसाबले व्यवसाय गर्ने प्रचलन रहेको छ । वरिष्ठ अधिवक्ताले खेल्ने व्यवसायीक भूमिका भनेको बेलायतको ब्यारिस्टर जस्तै हो भने अधिवक्ताले गर्ने भूमिका सोलिसिटरको जस्तै हो । बेलायतको न्याय प्रणाली र न्यायमूर्तिहरू काबिल, सक्षम, स्वतन्त्र। वैज्ञानिक र पारदर्शी हुने हुँदा अदालतमा धेरै मुद्दाहरू हुँदैनन् । त्यसैले ब्यरिस्टरहरु मात्रले पनि उपल्लो अदालतमा काबिल प्रस्तुति दिन सक्छन् र उनीहरूलाई प्रभाकारी सहयोग सहयोगी सोलिसिटरले गर्छन् । धेरै समय त होइन, केही महिना मैले बेलायतमा अध्ययन सकिसकेपछि बेलायतको ल फर्ममा खास गरी अध्यागमन सम्बन्धी काम गर्दा सहयोगी विदेशी कानून व्यवसायीको हैसियतमा ब्यारिस्टरलाई सहयोगीको रूपमा काम गर्ने अवसर र अनुभवले देखेको र भोगेको हो ।
अब हाम्रो सन्दर्भमा हेर्दा वरिष्ठ अधिवक्ताको सहयोगी अधिवक्ताको सैद्धान्तिक सम्बन्ध त्यहीसँग हेरिएको जस्तो लाग्यो । हाम्रोमा पहिले अभिवक्ताको प्रयोग पनि भएको र अभिवक्ता सर्वोच्च अदालतसम्म बहस गर्न नपाउने हुँदा सोलिसिटरको भूमिका आज मिलेको देखिन्छ भने अधिवक्ताको हकमा सान्दर्भिक छ । हाम्रोमा अहिले सिधै अधिवक्ता हुने व्यवस्था र सर्वोच्च अदालतमा व्यवसायको प्रमाण पत्र प्राप्त गरेकै दिन बहस गर्न पाउने सुविधाले भने सबै अवस्थामा अधिवक्ताले सहयोगी अधिवक्ता नै किन हुने भन्ने अवस्था पनि देखिन सक्ने उतिकै सम्भावना छ । तसर्थ सहयोगी अधिवक्ताको भूमिकालाई अलि व्यवहारिक हुने गरी बार काउन्सिलले तयारी गर्नु पर्छ जस्तो लाग्छ ।
व्यवसायीक सहयोगी अधिवक्ता भनेको को हो ? 
मैले बुझे सम्म व्यवसायीक सहयोगी गर्ने अधिवक्ता भनेको कुनै मुद्दाका विषयमा अदालतमा बहस पैरवी गर्नु परेको अवस्थामा बहस गर्ने कार्यमा सहज होस् र अदालतको समय व्यवस्थापन देखि प्रस्तुतिसम्म सहयोग होस् भन्ने खातिर वरिष्ठ अधिवक्तालाई सहयोग पुर्‍याउन सक्ने व्यवसायीक सहयोगी अधिवक्ता हो । हुन त सहयोगी अधिवक्ताले वरिष्ठ अधिवक्तासँगै बहस गर्ने भन्ने बुझाइ धेरै युवा कानून व्यवसायीको देखे र अब देखि कुनै न कुनै वरिष्ठ ले बोलाउने भए अनि बहस गर्न पाइने भो भन्ने बुझाइ पनि देखियो  ।  तर त्यो होइन व्यावसायिक सहयोगी अधिवक्ताले बहस गरेर मात्र सहयोग गर्छन् भन्ने बुझ्नु गलत हो  ।व्यावसायिक सहयोगीले वकालत नामा भरि बहस गर्ने हो भन्ने यसको मनसाय होइन । हुन त मैले माथि भनिसके हामीले तयारी नै नगरी कार्यान्वयनमा ल्याइयो तसर्थ सहयोगी अधिवक्ताको जिम्मेवारी बुझ्नु आवश्यक छ ।
सहयोगी अधिवक्ताको व्यवसायीक भूमिका 
मैले देखे सम्म र बुझे सम्म सहयोगी अधिवक्ताले गर्ने सहयोग भनेको पक्षसँग संवाद मा रही, पक्षका कुराहरू सुनी त्यसको विस्तृत विवरण वरिष्ठ अधिवक्तालाई बुझाउने, सो मुद्दासँग सम्बन्धित तथ्यहरू पढ्ने, प्रमाण विश्लेषण गर्न सहयोग गर्ने, कानून र नजिरहरू दुरुस्त खोज्ने, मुद्दामा उठाउनु पर्ने तर्कहरू र ब्रिफिङ तयार गर्ने अनि बहसका मुख्य बुँदाहरू तयार गरी बहस गर्न जानु अघि वरिष्ठलाई ब्रिफिङ गर्ने । वरिष्ठलाई इजलासमा प्रमाण र अनि आवश्यक कागजातहरू सिलसिलेवार तरिकाले तयार गरी जुन प्रसङ्गमा बहस हुन्छ सो सँग सम्बन्धित तथा र विश्लेषणका बुँदा, नजिर, प्रमाणहरू तयार गरी सहज र निरन्तर बहस गर्न सहयोग गर्ने हो  । कतिपय वरिष्ठ अधिवक्ताहरू गम्भीर, जटिल अनि ठुलो मुद्दाहरू एक्लै तयार गर्न गाह्रो हुने अनि ठुलो मिसिलमा एक्लै इजलासमा बहस गर्दा गन्जागोल हुने, प्रमाणहरू यत्रतत्र हुने, मुद्दाका विषयमा खोज अनुसन्धान गर्न नभ्याउने, नजिर नभेटिने, फाइल र नजिरका भारी आफैँ बोकेर इजलास जाँदा छुट्न सक्ने गर्दा एकातिर बहसको रिदम तोडिने अर्को तिर अदालतलाई पेस गर्नु पर्ने कागजात नभेटिने अनि कागजात खोज्दा खोज्दा अदालतको समय खेर जाने र बहसको व्यवसयीकता नदेखिने हुँदा इजलासमा धेरै कानून व्यवसायीले न्याय मूर्तिको हप्की खाएको देखिन्छ। एक जना वरिष्ठ अधिवक्ताज्यूले अफिसबाट अदालत आउँदा फाइल छुटेको अनि मुद्दाको पालो आइपुगेकोले पर्समा हालेको बहस चिट (ए फोर साइजको चार पटक फोल्ड गरेको) खोलेर बहस गर्दा ….सुबेदी श्रीमानले कानून व्यवसायीको अदालत प्रतिको कर्तव्यको बारेमा राम्ररी सम्झाउनु भएको थियो । म त्यो घटनाको साक्षी हो । उहाँ वरिष्ठ ज्यु सँग यदि सहयोगी अधिवक्ता हुन्थे भने त्यो मुद्दामा वरिष्ठ ज्युको उपस्थिति कति ओजिलो हुन्थ्यो होला । बेकार इजलासबाट हप्की खानु पर्‍यो । इजलासबाट व्यवसायीक आचरणको न्यायमूर्तिबाट पाठ  सिक्नु पर्‍यो भन्ने लग्यो । बहसका क्रममा सहयोगी बिना गरिएका कति बहसहरू उच्च कोटीका वरिष्ठ कानून व्यवसायीहरूले समेत अव्यवहारिक भएको देखिन्छ । उहाँ वरिष्ठ ज्युको हकमा एउटा कुरा पक्का थियो, अफिसबाट अदालत जाँदा फाइल छुट्ने वाला थिएन । यदि सहयोगीसँगै भएको भए छुटेको भए पनि इजलासलाई अनुरोध गरेर फाइल आउन्जेल अरू व्यवस्थापन हुन सक्थ्यो ।
सहयोगी अधिवक्ताको आवश्यक गुणहरू के हुन् ?
सहयोगी अधिवक्ता कानून व्यवसायीसँग व्यक्तिगत व्यक्तित्व  र व्यवसायीक कार्यकुशलता महत्त्वपूर्ण हुन्छ व्यवसायमा । सहयोगी अधिवक्ता खोज अनुसन्धान र मुद्दाको विश्लेषणमा निपुर्ण हुनु पर्ने हुन्छ । जटिल कानूनि विषयहरूमा सहयोगी अधिवक्ताले गम्भीर रूपमा खोज अनुसन्धान गरी वरिष्ठज्युलाई भरपर्दो सहयोग गर्नु पर्छ । जटिल मुद्दामा गरिने अनुसन्धानहरू विश्वसनीय हुनु पर्छ । वरिष्ठज्युले इजलासमा गर्ने प्रस्तुतिको विश्वसनीयता र आधिकारिकता सहयोगी अधिवक्ताले अनुसन्धान गर्ने विधि, स्रोत र सामग्रीमा निर्भर गर्छ । कानून व्यवसायी अदालतको पनि सहयोगी हुने हुँदा वरिष्ठ ज्युको सहयोगीको भूमिका निभाउँदा खोजमूलक, आधिकारिक अनि विश्वसनीय लेख, अनुसन्धान प्रतिवेदन, नजिरहरू खोजेर विश्लेषण गरेर वरिष्ठज्युलाई तयार राख्नु पर्ने हुन्छ । जो सहयोगी अधिवक्ताले गर्ने हो । सहयोगी अधिवक्ताले बहसको स्मरण पत्र, ब्रिफिङ तयार गरी मुद्दालाई सजिलोसँग बुझ्न सक्ने गरी तयार गरी वरिष्ठज्युलाई इजलास जानु अगाडी च्यामबरमा ब्रिफिङ गर्ने अनि इजलासमा बहस गर्न सहयोग पुर्‍याउनु पर्दछ । सहयोगी कानून व्यवसायीले मुद्दामा इजलासमा बहस गर्दा मात्र होइन बहस पूर्व नै मुद्दाको मस्यौदा गरेर अथवा अन्य कानूनि कागजातको मस्यौदा  तयार पार्ने, मुद्दाको फाइल व्यवस्थापन गर्ने, साक्षी बकपत्र बयानका लागि तयारी गर्ने गराउने, पक्षसँग मुद्दाको बारेमा संवाद, जानकारी गराउने, मुद्दाको कार्यविधि लगायत प्रगति विवरण दुरुस्त राख्ने र पक्षसँग व्यवसायीक सम्बन्धलाई सुमधुर र विश्वासिलो बनाउने कार्य भित्र सहयोगी अधिवक्ताको भूमिका रहन्छ । सहयोगी अधिवक्ताले वरिष्ठ अधिवक्ताले चाहेमा वा आवश्यकता महसुस गरेमा बहसलाई  सुरु गर्न पनि सक्दछन् । तर यो मुद्दाको विषयवस्तु र गाम्भीर्यतामा निर्भर गर्दछ । अनि पक्षको इच्छा र सहयोगीको दक्षतामा पनि भर पर्दछ । तसर्थ सहयोगी अधिवक्ता बहस गर्दा मात्र होइन सम्बन्धित मुद्दासँग हुने हो ।
सहयोगी अधिवक्ता सबैलाई चाहिने हो या एउटा मुद्दामा एक सहयोगी भए पुग्छ ?
अहिले खास गरी हाइ प्रोफाइल मुद्दा वा जटिल कानूनि र संवैधानिक विषय भएको मुद्दामा पक्षले मुद्दाको व्यवस्थापनका लागि मुख्य कानून व्यवसायी राख्ने गर्दछन् । मुख्य कानून व्यवसायी (अधिवक्ता) भएको मुद्दामा मुख्य कानून व्यवसायीले मुद्दाका सबै कानून व्यवसायी खागसरि वरिष्ठ  कानून व्यवसायीहरूसँग सहकार्य गरी निरूपण गर्नु पर्ने कानूनि प्रश्नलाई वरिष्ठ अधिवक्ताको दक्षता हेरी बहसको तयारीको विषय छुटाइएको हुन्छ । यस्तो अवस्थामा वरिष्ठ अधिवक्ताको लागि एक वा बढी मुख्य कानून व्यवसायीले सहयोगीको भूमिका निर्वाह गरेको अवस्था मा १ वरिष्ठलाई १ सहयोगी अधिवक्ता नै चाहिने हो वा एउटाले सबैलाई सहयोगीको भूमिका गरे हुने हो भन्ने कुरा प्रस्ट छैन । तर मेरो विचारमा लिड लयर भएको अवस्थामा सबै वरिष्ठका एक एक सहयोगी हुनु पर्ने व्यवस्था हो भने सान्दर्भिक देखिँदैन केवल इजलास भित्र कानून व्यवसायीको भिडभाड हुने बाहेक । यदि सबै अवस्थामा एक सहयोगी चाहिने भन्ने हो भने अदालत परिसरमा भाडाका सहयोगी समेत पाउने सम्भावना ज्यादा हुन्छ । त्यसैले सहयोगी आवश्यकता हो वा व्यवसयीकता हो हेर्नु पर्ने हुन्छ । सहयोगी सर्वोच्च अदालतको निम्ति आवश्यक हो वा जहाँ पनि आवश्यक हो तौलिनु पर्छ । कस्तो वरिष्ठलाई सहयोगी चाहिने हो या सबै वरिष्ठलाई आवश्यक पर्ने हो विश्लेषण गर्नु पर्ने हुन्छ ।
हाम्रोमा वरिष्ठ उपाधि पाउने कतिपय कानून व्यवसायीको न ल फर्म छ न मुद्दाको चाङ नै, अब मुद्दाको चाङ नै नभएका वरिष्ठ र आफैँ कामको अभाव भएका वरिष्ठज्युहरु त्यसै त वरिष्ठ अधिवक्ताको हैसियतमा समेत पारिश्रमिक पाउदैनन । कतिपयले आफै मुद्दाको तयारी गरेका हुन्छन् भने सहयोगी अधिवक्ता चाहिने कतिको सार्थक हुन्छ त्यो पनि हेर्नु पर्ने हुन्छ । किनकि सहयोगी अधिवक्ताले प्रो बोनो त गर्न सक्दैनन् । पारिश्रमिक सबै मुद्दाले नदिन नि सक्छ या उचित पारिश्रमिक नपाउन नि सक्छन् । मुद्दाको अभाव भएका वरिष्ठ अधिवक्ताहरूले सहयोगीलाई कानूनका विषयमा खोज अनुसन्धान, लेखको मस्यौदा, नजिरको व्यवस्थापन लगायत अन्य व्यवसायीक काम सिकाउने गर्नु पर्दछ जस्तो लाग्छ त्यो खास गरी देखिँदैन सुनिँदैन । अझ हाम्रोमा बार काउन्सिलबाट कानून व्यवसायी को प्रमाणपत्र पाउनासाथ सर्वोच्च अदालतमा सिधै बहस गर्न पाउने व्यवस्थाले यो अवस्थालाई अझ जटिल बनाउन सक्छ। त्यसैले सहयोगी अधिवक्ताको प्रयोगलाई झन् सार्थक बनाउन सर्वोच्च अदालतमा र अन्य अदालतमा कानून व्यवसाय गर्ने सर्तहरूलाई नियमन गर्न पर्ने छ। त्यसैले मुस्किलले एक दिनमा एउटा मुद्दा हुने र दिन मै कयौँ मुद्दा हुने वरिष्ठ अधिवक्ताको हकमा सहयोगीको व्यवस्थापन कसरी गर्ने हो भन्ने हेरिनु पर्ने हुन्छ ।
कानून व्यवसाय सार्वजनिक महत्वको व्यवसाय हो ?
कानून व्यवसाय गम्भीर, चुनौतीपूर्ण, दक्षतायुक्त, व्यवसयीकता र सार्वजनिक महत्वको पेसा हो । आफ्नो सिप कला दक्षतालाई कानून व्यवसायीले पुस्तान्तरण गर्दै लैजाने हो । धेरै वर्षको अथक र निरन्तर व्यवसायीक अभ्यासले मात्र एउटा कानून व्यवसायी सफल कानून व्यवसायी हुने गर्दछ । तसर्थ कानून व्यवसायमा छिटो प्रतिफल आउँदैन । कुर्न सक्ने धैर्यता आवश्यक छ । त्यो पनि व्यवसयीकता र दक्षतालाई निरन्तर दिँदै । पुस्तान्तरण गर्नु पर्ने व्यवसाय र अदालतलाई पनि मस्त सहयोग गर्न सक्ने कानुन व्यवसायी नहुन्जेल न्यायकर्मी पनि अल्छी हुने गर्छन् । त्यसका लागि पनि हामीले युवा पुस्तालाई तयार गर्नु पर्ने हुन्छ । सहयोगी अधिवक्ताको एउटा प्रमुख उद्देश्य यो पनि हो, सहयोगीले अदालत भित्रको मर्यादा, अध्ययन अनुसन्धानको कला अनि दक्षता, बहसको कला र न्यायमूर्तिको मानसिकता, सार्थक र बस्तु निष्ठा बहस अनि तर्क राख्ने क्षमता र व्यवहारिकता अनि व्यवसयीकताको सभ्यता सिक्ने भनेकै वरिष्ठबाट हुने र नैतिकता र इमानदारिता उनीहरूबाटै सिक्ने वातावरण बनाई कुशल कानून व्यवसायी तयार गर्ने मौका भनेकै वरिष्ठको सहयोगी अधिवक्ता हुने हो  ।
तसर्थ पछिल्लो कानून व्यवसायी पुस्तालाई अघिल्लो पुस्ताले कस्तो व्यावसायिकता सिकाएको रहेछ भन्ने देखिने मापन पनि यही हो । तसर्थ वरिष्ठज्युहरुले इमानदारिता, उच्च व्यवसयीकता र पक्षको नजरमा काबिल कानून व्यवसायी देखाउन समेत सहयोगी अधिवक्ताको व्यवस्था गरेको हो । सहयोगी अधिवक्तालाई सिकाउने हो सजाउने समान बनाउने होइन, सिकाउने एउटा महत्त्वपूर्ण पाटो भनेको सहयोगी राखेर हो । तर कुशल सहयोगी पाउन अहिले सजिलो छैन चाहे जति सुकै प्रमाण पत्र बोकेका अधिवक्ता हुन् बजारमा । सहयोगीले गोपनीयता, इमानदारिता, लगाव अनि व्यवसयीकताको निरन्तरता र दक्षता विकास गर्नका लागि सहयोगीको भूमिका उच्च प्राथमिकताबाट निर्वाह गर्नु पर्छ । मैले मेरो व्यवसायीक जीवन वरिष्ठ कानून व्यवसायीको झोला बोक्न पाइन, सँगै अदालत इजलास जान पाइन । त्यस्तो अभाव मलाई सधैँ भरि रहिरहेको छ । जति व्यवसयीकता सिके बुबाबाट सुनेर सिके । केही मुद्दामा बुबासँगै बहस पनि गरे । तर मलाई पुगुन्जेल व्यवसायीक प्रमाण पत्र बोकेपछि त्यो मौका धेरै पाइन । केवल व्यवसयीकताको बारेमा बुबाबाट होम ट्युसन बाहेक । तर अहिलेको पुस्तालाई गज्जबको मौका मिलेको छ । त्यो पनि काउन्सिलले नियमन गरेर यसको आवश्यकता औँल्याएको छ भने अर्को तिर सर्वोच्च अदालत ले नै आवश्यकताको महसुस गरेको छ । अहिले केही हाई प्रोफाइलको मुद्दामा लिड लयरको भूमिका निर्वाह गर्ने गरेको छु अनि कति मुद्दामा वरिष्ठज्युहरुसँगै बहस गर्छु । तर मनमा एउटा कुरा के लाग्दछ भने यो सहयोगी अधिवक्ताको अवधारणा हाम्रो बेलामा भएको भए कति सरल र चाँडो व्यवसयीकता सिकिने रहेछ । मौका गज्जबको छ तर सहयोगी अधिवक्ताले यो मौकालाई व्यवसयीकताको अवसर हो भन्ने जानेनन्, बुझेनन् वा सिकेनन् भने व्यवसायीक अधिवक्ता केवल सजाउने गहना मात्र हुन्छन् काबिल कानून व्यवसायी हुन् सक्दैनन् ।  त्यसैले जुन मुद्दामा सहयोगी अधिवक्ता हुन पाइन्छ त्यो मुद्दामा आफ्नो व्यावसायिक क्षमता भरपुर देखाउन सके सहयोगीको अर्थ मिल्नेछ ।

सम्बन्धित समाचार

ताजा न्यूज