काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। तर ६३२ पृष्ठ लामो मुद्दा फाइलमा भारतीय नागरिक स्वामी रामदेव र आचार्य बालकृष्णको नाम भने समावेश गरिएको छैन।
‘पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल’ को नाममा देशका १० वटा जिल्लामा हदभन्दा बढी जग्गा खरिद गरी सरकारकै निर्णयमार्फत बेचबिखन गरिएको अनुसन्धानबाट खुलेको छ। उक्त कम्पनीका संरक्षक रामदेव र अध्यक्ष बालकृष्ण रहेका छन्, तर आयोगले उनीहरूलाई प्रतिवादी बनाएको छैन। बरु कम्पनीका पाँच जना सदस्यमध्ये एक मात्र नेपाली नागरिक शालीग्राम सिंहलाई मात्र प्रतिवादी बनाइएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेको विवरण अनुसार २०६४ सालमा दर्ता भएको कम्पनीको दर्ता नम्बर ८४/०६४/०६५ हो भने स्थायी लेखा नम्बर (प्यान) ३०२७५२७९५ हो। कम्पनीका संरक्षकका रूपमा रामदेवको नाम, ठेगाना (हरिद्वार, भारत) र भारतीय पासपोर्ट नम्बर समेत उल्लेख छ। त्यस्तै अध्यक्ष बालकृष्णको नाम पनि त्यस्तै विवरणसहित दर्ता छ। बाँकी सदस्यहरू पनि भारतीय नागरिक हुन्—महन्त राजेन्द्र दास र राजेन्द्र सिंह।
कम्पनीले नेपालमा आयुर्वेद, योग तथा शिक्षा प्रवर्द्धन गर्ने नाममा अनुमति लिएको थियो। तर त्यसको आडमा देशभरका विभिन्न स्थानहरूमा हजारौं विघा जमिन खरिद गरिएको छ। भूमि सुधार मन्त्रालयमा विशेष निवेदन दिएर जग्गा खरिदको सीमा नाघ्न पाइने अनुमति लिइएको र मन्त्रिपरिषदबाट निर्णय गराएर त्यसको किनबेचसमेत गरिएको देखिन्छ।
कानूनविद्हरू भन्छन्—जब विदेशी नागरिकहरू नेपालमा कम्पनी दर्ता गरेर जग्गा खरिद, व्यापारिक कार्य र सरकारी निर्णयमा प्रभाव पारिरहेका छन् भने उनीहरूलाई प्रतिवादी नबनाउने निर्णय कानूनी दृष्टिले गलत छ। “नेपालमा दर्ता हुन दिने, व्यापार गर्न दिने, तर कानूनको कठघरामा उभ्याउन नमिल्ने भन्ने नियम छैन,” एक कानुन विज्ञले भने।
अख्तियारले विदेशी नागरिक भएकाले प्रतिवादी नबनाएको भन्ने आधार दिइएको छैन, तर रामदेव र बालकृष्णको भारतमा ठूलो प्रभाव भएकाले नेपालका निकायहरू उनीहरूप्रति नरम रहेको आशंका गरिएको छ।
यो मुद्दाले भ्रष्टाचारविरुद्धको संस्थागत प्रयासमाथि गम्भीर प्रश्न खडा गरेको छ। कानुन सबैका लागि समान हुने भनेको व्यवहारमा लागू नभएको देखिएको छ। अख्तियारले पूर्ण निष्पक्षता अपनाएर सबै संलग्नलाई कारबाहीको दायरामा ल्याउनु पर्ने कानुनविद्हरूको माग छ।
-आफताब आलमका लिड लयर अधिवक्ता सरोज कृष्ण घिमिरे आफ्नो फेसबुकमा लेखेको सामाग्रि समय सापेक्ष लागेर साभार गरेका हौँ । सम्पादक