काठमाडौं । तुलसी सहकारीको रकम अपचलनमा केदारनाथ शर्मासिहतका तीन जना दोषि ठहर भएका छन् । उनीहरुलाई भोलि विहीबार जिल्ला अदालत मोरङले सजाय तोक्ने भएको छ ।
सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा तुलसी बहुमुखी सहकारी संस्थाको अध्यक्ष केदारनाथ शर्मा सहित ३ जना दोषी ठकर भएका हुन् ।
मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहि झापा, मोरङ, सिराहा, उदयपुर लगायत जिल्लामा शाखा विस्तार गरी सर्वसाधारणबाट संकलन गरेको बचत दुरुपयोग गरेको आरोप शर्मामाथि लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरी दिएको राय सहितको प्रतिवेदनको आधारमा जिल्ला सहकारी वकिलको कार्यालय मोरङले सहकारीका अध्यक्ष शर्मा र सचिव सविना न्यौपाने सहित ८ जनाविरुद्ध मुद्दा जिल्ला अदालत मोरङमा दर्ता गरेको थियो ।
गत आइतबार न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई दोसी ठहर गरेको हो ।
जिल्ला अदालत मोरङले दोसी ठहर गरे पनि सजाय निर्धारणको लागि अर्को इजलासमा पेश गर्न आदेश दिएको छ । बिहीबार सजाय निर्धारणको लागि पेशी तोकिएको जिल्ला अदालतको सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए ।
विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहा शाखा कार्यालय खोलेर सर्वसाधारणबाट संकलन गरेको करिब डेढ अर्ब अपचलन गरेका थिए । जिल्ला अदालतले सहकारीका सञ्चालकहरू आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेललाई भने सफाइ दिएको छ ।
सहकारीका सञ्चालकहरु बन्टी अधिकारी र छविलाल विश्वकर्माको भने मुल्तबीमा राखिएको जिल्ला अदालत मोरङले जनाएको छ । उनिहरु फरार रहेकोले अहिलेलाई मुल्तबीमा राखिको हो ।
केन्द्रीय कार्यालय विराटनगर र दमक, गाईघाट, गोलबजार शाखा कार्यालय मार्फत २१ हजार १ सय ५४ जना बचतकर्ताको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत अपचलन आरोपमा अध्यक्ष शर्मासहित ८ जनाविरुद्ध २०७९ चैत १२ गते मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।